
प्रहलाद विश्वकर्मा, नेपालगंज । नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको ४०औं जिल्ला बार्षिक साधारण सभा नेरेसो जानकी उपशाखाको आतिथ्यमा जानकी गाउँपालिका–६ गनापुरमा शनिवार सम्पन्न भएको छ ।
सभाको उदघाटन गर्दै लुम्बिनी प्रदेशका वन, वातावरण तथा भू संरक्षण मन्त्री एवं सभाका प्रमुख अतिथि सुरेन्द्रबहादुर हमालले मानवीय सेवामा संधै अग्रसर रहने नेपाल रेडक्रसको प्रशसा गर्दै लुम्बिनी प्रदेश भरी निशुल्क रगत उपलब्ध गराउन र रक्तसंचार सेवाको भौतिक विकासका लागि प्रतिबद्धता व्यक्त गर्नु भयो ।
उक्त सभामा समिक्षात्मक सम्बोधन गर्दै नेरेसो बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाले कोरोना महामारी रोकथामका लागि स्वयंसेवक परिचालन भई समुदायसम्म रेडक्रसको सेवा पुगेको बताउँदै आ.ब. २०७७/२०७८ मा ४ लाख ३६ हजार ८ सय ५४ जना लाभान्वित भएको कुरा जानकारी गराउनु भयो ।
कार्यक्रममा आर्थिक वर्ष २०७७/२०७८ मा रेडक्रस गतिविधिहरुको समाचारका रुपमा प्रकाशन एवं प्रशारण गरी रेडक्रस अभियानको प्रचार प्रसार कार्यमा उल्लेखनीय योगदान गर्ने दैनिक नेपालगंज, जी नेपाल एच.डी टेलिभिजन र सारा खबर अनलाईन मिडियालाई प्रंशसा पत्र दिई सम्मान गरिएको छ ।
यसैगरी नेरेसो बाँके शाखा अन्र्तगतका १७ उपशाखा मध्ये बार्षिक कार्यसम्पादन मूल्यांकनको आधारमा नेरेसो कोहलपुर उपशाखाकालाई उत्कृष्ट उपशाखा सेवा पुरस्कार प्रदान गरिएको छ ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका मन्त्री अजीज अहमद सिद्धिकीले गत आ.ब.को बार्षिक प्रगति प्रतिवेदन र आगामी आ.ब. २०७९/२०८० का लागि प्रस्तावित कार्यक्रम प्रस्तुत गर्नु भएको थियो भने कोषाध्यक्ष राकेशबहादुर श्रीवास्तवले आर्थिक प्रतिवेदन र आगामी आ.ब. २०७९÷२०८० का लागि ३ करोड ३ लाख ६ हजार १ सय ९८ रुपैयाको प्रस्तावित बजेट प्रस्तुत गर्नु भएको थियो ।
रेडक्रस बाँकेले स्वयंसेवकहरुको सहयोगार्थ विगतमा स्थापना गरेको स्वयंसेवक कल्याण कोष बृद्धिका लागि कोषाध्यक्षको अनुरोधमा तत्काल रु. ९ हजार १ रुपैया सभामा संकलन भएको थियो । उक्त सभामा जनसेवा इङ्गिलस मिडिया जानकी गाउँपालिका–३ कोरियानपुर बाँकेका विद्यार्थीहरुले स्वागत गीत र नृत्य प्रस्तुत गरेका थिए ।
सो सभामा नेरेसो जानकी उपशाखाको दैनिक प्रशासनिक र मानवीय सेवा कार्यसंचालन गर्नका लागि जानकी गाउँपालिका वडा नं. ५ र ६ का वडा अध्यक्षहरुले संयुक्त रुपमा रेडक्रसको भोगाधिकार रहने गरी साविक पुरानो गाविस भवन रेडक्रसलाई हस्तान्तरण गरेका छन् ।
नेपाल रेडक्रस सोसाइटी जानकी उपशाखाका सभापति दुखीराम लोनियाको सभापतित्वमा सम्पन्न उद्घाटन सत्रमा संविधान सभा सदस्य एवं विशिष्ट अतिथि बादशाह कुर्मी, प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री, बरिष्ठ जनस्वास्थ प्रशासक धिरजंग शाह, जानकी गा.पा. वडा नं. ५ का वडा अध्यक्ष रमेशकुमार वर्मा लगायतले सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो भने नेरेसो बाँके शाखाकी उपसभापति शान्ति श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।
नेरेसो बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाको सभापतित्वमा सम्पन्न बन्दसत्रमा १७ वटा उपशाखाका प्रतिनिधि सभासद्हरुले मन्त्री र कोषाध्यक्षको प्रतिवेदन माथि छलफल गरी परित गरेका थिए भने कार्यक्रम संचालन नेरेसो बाँके शाखाकी बरिष्ठ संगठन विकास अधिकृत निरञ्जना मल्लले संचालन गर्नु भएको थियो ।





