
नेपालगञ्ज। स्वास्थ्यका लागि पानी अपरिहार्य मानिन्छ तर दाङको एक स्वास्थ्य चौकीका बिरामीले पानी खान पनि पाउँदैनन् ।
तुलसीपुर उपमहानगरपालिका–१३ फुलबारीस्थित स्वास्थ्य चौकीमा अहिलेसम्म पनि खानेपानीको व्यवस्था छैन । वि.सं २०३१ देखि त्यस क्षेत्रमा सञ्चालित उक्त स्वास्थ्य चौकीमा पानी नहुँदा बिरामीले पनि पानी घरबाटै ल्याउनुपर्ने अवस्था रहेको स्वास्थ्य चौकीका इञ्चार्ज ज्ञानबहादुर डाँगीले बताउनुभयो ।
‘सबैभन्दा समस्या हाम्रो स्वास्थ्यचौकीमा खानेपानीकै छ, यहाँ पानीको व्यवस्था नभएकाले बिरामीले घरबाटै पानी बोकेर ल्याउनुपर्ने अवस्था छ,’ उहाँले भन्नुभयो, ‘यहाँ कार्यरत कर्मचारीले पनि घरबाटै पानी बोकेर ल्याउनुपर्ने बाध्यता छ ।’ बिरामीलाई पनि कहिलेकाहीँ औषधि खुवाउन कर्मचारीले नै पानी ल्याएर खुवाउनुपर्ने अवस्था छ ।
धारा जडानका लागि पटक पटक सम्बन्धित निकायमा आग्रह गरिए पनि त्यसले सार्थकता पाउन सकेको छैन । कार्यालयमा स्यालो ट्युबेल जडान गर्न सकिने भएकाले यसका लागि पनि भने छलफल अघि बढाइएको इञ्चार्ज डाँगीले बताउनुभयो ।
स्वास्थ्य चौकीमा एक अनमी, दुई अहेब, एक जनस्वास्थ्य निरीक्षक, एक ल्याब असिस्टेन्ट कार्यरत छन् । त्यहाँ ल्याब, बर्थिङ सेन्टर लगायत सेवा पनि सञ्चालनमा रहे पनि मापदण्ड अनुसारको भवन नहुँदा पनि समस्या भएको इञ्चार्ज डाँगीको भनाई छ ।
‘हामीसँग १० कठ्ठा जग्गा छ, त्यहाँ राम्रो मापदण्ड भएको भवन निर्माण गर्न सकिन्थ्यो’ उहाँले भन्नुभयो, ‘अहिलेसम्म पुरानै भवनमा छौँ, मापदण्ड अनुसारका भवन नहुँदा समस्या भएको छ ।’





