
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले मानव मलमुत्र फोहर व्यवस्थापन नियमावली २०७८ र शहरी सरसफाई योजना अनुमोदनका लागि सरोकारवालासंग छलफल गरेको छ ।
उपमहानगरपालिकामा मानव मलमुत्र व्यवस्थापनका लागि तयार गरिएको मस्यौदा र शहरी सरसफाई योजना अनुमोदनका गरि कार्यान्वयनमा ल्याउने सम्बन्धमा जनप्रतिनिधिसंग तथा सरोकारवालासंग छलफल गरिएको हो ।
छलफलमा बोल्दै नेपालगञ्जका मेयर डा.धवल शम्शेर राणाले नेपालगञ्जमा मानव मलमुत्र व्यवस्थापनको समस्या रहेको भन्दै यसको व्यवस्थापन प्लान्ट निर्माणका लागि सहयोगको खोजी गरिरहेको बताउनुभयो ।
मनव मलमुत्र व्यवस्थापन प्लान निर्माण गर्न धेरै रकमको आवश्यकता देखिएको हुँदा दातृ निकायसंगको समन्वय सहकार्य भइरहेको र छिटै नेपालगञ्जमा यो प्लान्टको निर्माण गर्न सकिन्छ कि भन्ने आशा गर्न सकिने बताउनुभयो ।
यहाँको फोहर व्यवस्थापनका लागि प्लान्ट त निर्माण भयो, मेयर राणाले भन्नुभयो, तर सेफ्टी ट्याँकी वा शौचालयको प्रयोगपछि निस्कने फोहर व्यवस्थापनमा समस्या देखिएको छ ।
उपमेयर उमा थापाले नेपालगञ्जमा मानव मलमुत्र व्यवस्थापनको समस्या बढ्न सक्ने बताउनुभयो । नेपालागञ्जमा छिट्टै मलमुत्र व्यवस्थापनका लागि प्लान्ट निर्माण गर्नुपर्ने र त्यसका लागि संघ संस्थाको सहयोगको आवश्यकता रहेको धारणा राख्नुभयो ।
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय नेपालगञ्जका डिभिजन प्रमुख तिलक न्यौपानेले मानव मलमुत्र व्यवस्थापनलाई मेगा प्रोजेक्टका रुपमा लिएको भएपनि अहिले ९८ प्रतिशतमा मल खुल्ला रुपमा व्यवस्थापन हुने गरेको देखिएको बताउनुभयो ।
नेपालगञ्जका मुख्य सडक हेर्दा राम्रो देखिएको तर दायाँ बायाँ हेर्ने हो भने नालीहरु सबै भरिएको, फोहरहरु थुप्रेको देखिन्छ, नेपालगञ्जमा यो व्यवस्थापन पनि चुनौतीका रुपमा देखिएको धारणा राख्नुभयो ।
साथै उहाँले सिटी स्यानिटेशन प्लानलाई पनि संग संगै लैजानुपर्ने आवश्यकतामा जोड दिनुभयो । सिटी स्यानिटेशन प्लानलाई अगाडी बढाउन सकिए नेपालगञ्ज नगरको सरसफाईको व्यवस्थापन गर्न सकिने उहाँले बताउनुभयो ।
यहाँका हरेक घरले आफ्नो फोहर आफै व्यवस्थापन गर्ने सिस्टमको बिकास गर्नुपर्ने कुराको बिकास हुन नसक्दा शहरलाई स्वच्छ बनाउन नसकिने उहाँको जोड थियो ।
एस एन भी नेपालको सहयोगमा गेरुवा ग्रामीण जागरण संघ बर्दिया नेपालगञ्जद्धारा नेपालगञ्जमा संचालित स्वास्थ्य र बिकासका लागि नगर सरसफाई तथा स्वच्छता परियोजनामार्फत आयोजना गरिएको छलफल एन एन भि नेपालका सिटि अफिसर सुरज राजभण्डारीले सेफ्टी ट्याँकीको आवश्यकता, मलमुत्रको व्यवस्थापन प्रक्रिया, प्लान्टको आवश्यकताका बिषयमा जानकारी गराउनुभएको थियो ।
छलफलमा नेपालगञ्ज उपमहानगरपालिकाका बिभिन्न वडाका वडाअध्यक्षहरु, सामाजिक बिकास समितिका सदस्यहरु, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय नेपालगञ्जका डिभिजन प्रमुख तिलक न्यौपाने, वातावरण इन्जिनियर प्रकाश डिसी, बिभिन्न शाखाका कर्मचारी, गेरुवाका परियोजना संयोजक गफ्फार अलि शेष, फिल्ड सुपरभाईजर हिरेन्द्र शाही र पत्रकारको सहभागिता रहेको थियो ।





