
नेपालगञ्ज । काठमाडौंमा लुटेको सुन र एक लाख नगदसहित प्रहरीले एक युवालाई दाङबाट नियन्त्रणमा लिएको छ ।
चाबहिलमा सुन व्यापारीको आँखामा खुर्सानीको धुलो हालेर सुन र नगद लुटपाट भएको थियो ।
लुटपाटमा संलग्न रहेको आरोपमा घोराही उपमहानगरपालिका ८ घर भई घोराही १५ रतनपुरमा डेरा गरी बस्ने २४ वर्षीय राजेन्द्र सिंहलाई सुन र नगदसहित प्रहरीले पक्राउ गरेको जनाएको छ ।
सिंहलाई पक्राउ गरी काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी सुरेश काफ्लेले बताउनुभयो । सिंहको साथबाट २२ तोला सुन र एक लाख नगद बरामद गरिएको प्रहरीको भनाइ छ ।
डिएसपी मुकुन्दप्रसाद रिजालका अनुसार काठमाडौं महानगरपालिका ७ स्थित चाबहिलमा एक जना सुन व्यवसायी पसल बन्द गरेर घरतर्फ जाँदै गर्दा सिंहसहित समूहले आँखामा खुर्सानीको धुलो छर्केर लुटपाट गरेका थिए ।
गत फागुन २५ गते लुटपाटपछि सिंह लुक्न दाङ आएको सूचनाका आधारमा उनको खोजि गरिएको थियो ।





