नरैनापुरमा तत्काल प्रशासन पुनःस्थापना गर्न कांग्रेसको माग

नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेले नरैनापुरमा तत्काल इलाका प्रशासन कार्यालय पुनःस्थापना गर्न माग गरेको छ ।

कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयमा पुगेको एक टोलीले नरैनापुरमा तत्काल इलाका प्रशासन कार्यालय पुनःस्थापनाका लागि प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्रीलाई ज्ञापनपत्र बुझाएको हो ।

प्रजिअ खत्रीलाई ज्ञापनपत्र बुझाउँदै सभापति गौडेलले नरैनापुरका जनता सरल, सहज र छिटो छरितो सेवा पाउने अधिकारबाट बञ्चित भएको भन्दै एक साताभित्र नरैनापुरमा इलाका प्रशासन कार्यालय पुनःस्थापना गर्न ध्यानाकर्षण गराउनुभयो ।

नागरिकता लगायत सामान्य प्रशासनिक कामका लागि लामो दुरी तय गरेर नेपालगञ्ज आउनुपर्ने बाध्यता स्थानीयले ब्यहोर्नुपरेको औंल्याउँदै सभापति गौडलले नरैनापुरबासीलाई झञ्झटिलो अवस्थाबाट छुटकारा दिन वडा नम्बर ५ मटेहियामा तत्काल इलाका प्रशासन कार्यालय पुनःस्थापना हुनुपर्ने बताउनुभयो ।

कांग्रेस क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति पोषण केसीले पहिले भन्दा परिस्थिति सबै कोणबाट अहिले सहज बनिसकेकाले नरैनापुर गाउँपालिका र राप्तीसोनारीका गाउँपालिकाका ६ र ७ नम्बर वडाका बासिन्दालाई समेत पायक पर्ने हिसाबले अबिलम्ब इलाका प्रशासन कार्यालय नरैनापुरमा पुनःस्थापना गर्न प्रजिअ खत्रीको ध्यानाकर्षण गराउनुभयो ।ज्ञापनपत्र बुझ्दै प्रजिअ खत्रीले छिटो भन्दा छिटो नरैनापुरको उपयुक्त स्थानमा इलाका प्रशासन कार्यालय पुनःस्थापना गरिने बताउनुभयो ।

‘तपाईंहरुको माग छिटो भन्दा छिटो सम्बोधन हुने गरी पहल गरिरहेका छौं, गृह मन्त्रालयमा कर्मचारी माग गरिसकेका छौं, कर्मचारीको व्यवस्था भयो भने यथाशक्य नरैनापुरको उपयुक्त स्थानमा कार्यालय पुनःस्थापना गर्छौं, ‘ प्रजिअ खत्रीले भन्नुभयो ।

त्यसक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य एवम् नरैनापुर ५ का वडा अध्यक्ष कृष्णचन्द्र मौर्यले कार्यालयका लागि आफ्नो निजी भवन पाँच महिनासम्म निःशुल्क उपलब्ध गराउने समेत बताउनुभयो ।

ज्ञापनपत्र बुझाउन कांग्रेस बाँके सभापति गौडेल, क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति केसी, लुम्बिनी प्रदेश कमिटी सदस्य टेकनारायण भुषाल, इशाक जोलाहा, बाँकेका उपसभापति गोपालप्रसाद अधिकारी, सहसचिव विनोदकुमार थारु, प्रदेश १ (क) का सभापति लक्ष्मण थारु, क्षेत्र नम्बर १ का क्षेत्रीय सचिव खुमबहादुर बस्नेत, क्षेत्र नम्बर १ का निवर्तमान सचिव डिल्ली गिरी, नरैनापुर पालिका सभापति मेराज अहमद खाँ, नरैनापुर गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष मौर्य, कोहलपुर नगर सचिव गोविन्द वाग्ले लगायत नेता कार्यकर्ता पुग्नुभएको थियो ।

यसअघि नरैनापुरमा रहेको इलाका प्रशासन कार्यालय हटाई केही बर्षदेखि नेपालगञ्जबाटै सेवा सञ्चालन भइरहेको छ ।

Previous articleखजुरास्थित क्यान्सर अस्पतालमा बढ्दै विरामीको चाप
Next articleराखेपको नयाँ प्रशासनिक भवनको उद्घाटन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here