
काडमाण्डौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) को नयाँ प्रशासनिक भवनको उद्घाटन गरीएको छ । राखेपको ५८ औं वार्षिक उत्सवको अवसर पारेर युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले प्रशासनिक भवनको उद्घाटन गर्नुभएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशाला परिसरमा रहेको राखेपको भवन उद्घाटन गर्दै मन्त्री अथकले नवौं राष्ट्रिय प्रतियोगिताको तयारीमा जुट्न निर्देशन दिनुभयो । मन्त्रालयले कार्यविधि बनाएर प्रतियोगिता संचालनको प्रक्रिया सुरु गरेको बताउँदै मन्त्री अथकले आगामी जेठको १५ भित्रै प्रतियोगिता सम्पन्न गर्ने गरी युद्धस्तरमा तयारी थाल्न आग्रह गर्नुभएको हो ।
जेठ १५ गतेसम्म राष्ट्रिय प्रतियोगिता सम्पन्न भए त्यसलगत्तै एसियन गेमको तयारीकालागि खेलाडीहरुलाई बन्द प्रशिक्षणमा राखी युद्धस्तरको तयारीमा लाग्ने योजनामा रहेको मन्त्री अथकले बताउनुभयो ।
अदालतका कारण थुप्रै कठिनाईहरुको सामना गर्नुपरीरहेको तर्फ ईगिंत गर्दैै मन्त्री अथकले त्यसलाई चिरेर मन्त्रालय अघि बढ्न प्रतिवद्ध रहेको समेत प्रष्ट पार्नुभयो ।कर्मचारीहरुबाटै राखेपको नेतृत्व गर्ने अवस्था सृजना हुनु आफैमा सकारात्मक पक्ष रहेकाले उक्त अवसरलाई प्रयाप्त मात्रामा सदुपयोग गर्न समेत मन्त्री अथकले सुझाव दिनुभयो ।
आगामी दिनमा कर्मचारीहरुभित्रबाटै राखेपले नेतृत्व पाउने गरी ऐन संसोधनकालागि पहल भईरहेको समेत उहाँले जानकारी दिनुभयो । “तपाईहरुभित्रबाटै नेतृत्व छनोट हुने गरी छलफल चलाएका छौं”, कर्मचारीहरुको हौसला बढाउँदै मन्त्री अथकले भन्नुभयो, “कार्यकारी पदमा पुग्ने उद्धेश्य राखेर निरन्तर काम गर्दै जानुहोस ।”
राज्यले खेललाई अनुत्पादक क्षेत्रका रुपमा हेर्ने गरेको मन्त्री अथकको गुनासो थियो । खेल क्षेत्रलाई उद्योगका रुपमा विकास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । जनसम्बन्धको भरपर्दो माध्यमका रुपमा समेत रहेको खेल क्षेत्रको विकासमा राज्यले उचित ध्यान दिनुपर्ने बताउँदै मन्त्री अथकले आगामी आर्थिक वर्षमा खेल क्षेत्रको बजेट बढाउन प्रधानमन्त्री तथा अर्थमन्त्रीसँग निरन्तर संवाद भईरहेको जानकारी दिनुभयो ।





