
नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिकामा ग्रीन सिटीको पाइलट प्रोजेक्टका लागि कृषि तथा पशुपालन कृषकलाई अनलाइन तालिम शुरु भएको छ ।
कोभिडका कारण ढिलाई भएको उक्त कार्यक्रम अन्तर्गत कृषि र पशुपालन गर्ने खजुराका ३० जना किसानलाई अनलाइन तालिम दिन थालिएको हो । थोरै लगानीबाट धेरै उत्पादन गरी फाइदा लिने र दिगोपनाका लागि तालिम फलदायी हुने बताइएको छ ।
व्यवस्थित खजुराका लागि कुन मोडालिटीमा जाने भन्ने विषयमा ग्रीन सिटीका लागि उज्वेगस्तानको राजधानी तास्केन्टमा युनाइटेड नेशन अफ साउथ साउथ कर्पोरेशन अध्यक्ष किस्मतकुमार कक्षपतिवीच सम्झौता पश्चात युयानको टोलीले खजुराको स्थलगत अवलोकन गरिसकेको छ ।
खजुरा गाउँपालिका किसान अगुवा र नार्कका वैज्ञानिक लगायतको टोली चीनको युसी सिटीमा त्यहाँको खेती प्रणालीको अवलोकन गरी अनुभवन आदान प्रदान गरिसकिएको छ । त्यसपश्चात पहिलो चरणमा खजुराका कृषि र पशुपालनमा आवद्ध किसानलाई तालिम दिन लागिएको अध्यक्ष कक्षपतिले जानकारी दिनुभयो ।
कृषितर्फ प्याज र टमाटर खेती र पशुपालनतर्फ बंगुर र कुखुरा पालनका लागि कृषकलाई तालिम दिन लागिएको हो । ३ दिन कृषि र ४ दिन पशुपालनसम्बन्धी तालिम संचालन हुनेछ । कृषितर्फ खजुरा गाउँपालिका कृषि शाखा प्रमुख पुनम पोख्रेल, प्रकाश सापकोटा र पशुपालनतर्फ पशुसेवा शाखाका प्राविधिक बुद्धि थापाले तालिमको सहजीकरण गर्नुहुनेछ ।
खजुरा गाउँपालिका प्रमुख कक्षपतिले ग्रीन सिटीको प्रोजेक्ट कुनै पनि हालतमा लागू भएरै छोड्ने बताउँदै खजुरामा पाइलट प्रोजेक्ट सफल भएपछि बाँकेका अन्य पालिकामा पनि लागु गर्नका लागि आफुले सम्बन्धित निकाय सामु कुरा राखेको बताउनुभयो ।
उहाँले खजुरालाई विश्वमा चिनाउन ग्रीन सिटीले सहयोग गर्ने भन्दै व्यवस्थित तथा दिगोपनाका लागि कार्यक्रम सफल बनाउन आग्रह गर्नुभयो । कार्यक्रममा खजुरा गाउँपालिका वडा नं ४ का अध्यक्ष तिलकवीर सुनारले समाज विकासका लागि जो सुकैको सरकार भएपनि हातेमालो गरेर अगाडि बढ्ने परिपाटीको विकास गर्नु पर्ने बताउनुभयो ।
उहाँले खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिका कारण खजुरामा ग्रीन सिटीको प्रोजेक्ट आएको बताउनुभयो । ग्रीन सिटीकै पाइलट प्रोजेक्ट अन्तरगत अनुभवन लिनका लागि चीन भ्रमण गरिसकेका खजुराका अगुवा कृषक गेहेन्द्र धितालले परम्परागत खेती प्रणालीबाट रुपान्तरण हुँदै कृषि र पशुपालनबाट खजुराको दीगोपना खोज्नु पर्ने बताउनुभयो ।
ग्रीन सिटी प्रोजेक्टका विश्व खाद्य संगठन चाइना, युनाइटेड नेशन अफ साउथ साउथ कर्पोरेशन एग्रिकल्चर चाइना, युएनडिपी नेपाल, एफइसिसी लगायतका साझेदार संस्था रहेका छन् ।





