धार्मिक पर्यटन प्रदेश समृद्धिको आधार : मुख्यमन्त्री पोखरेल

स्याङ्जा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशलाई धार्मिक पर्यटनका माध्यमबाट समृद्ध बनाउन सकिने बताउनुभएको छ ।

स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा रहेको ऐतिहासिक आलमदेवी मन्दिरको अवलोकनपछि आइतबार मुख्यमन्त्री पोखरेलले आलमदेवी मन्दिरको सम्बन्ध नेपाल एकीकरणसँग पनि जोडिएको भन्दै यहाँ देश विदेशका पर्यटक भित्र्याउन त्यही अनुसारको प्रचार प्रसार जरुरी रहेको बताउनुभयो ।

धर्मलाई केबल परम्परासँग जोड्न नहुने भन्दै यसलाई जीवनशैलीसँग जोडेर समृद्धिको माध्यम बनाउनुपर्नेमा उहाँको जोड थियो । धर्मको कुनै भौगोलिक सीमा नहुने बताउँदै मुख्यमन्त्री पोखरेलले भन्नुभयो, ‘भारतका प्रधानमन्त्री नरेन्द्र मोदी मुक्तिनाथ आएलगत्तै त्यसको अनुसरण गर्दै भारतीय धार्मिक पर्यटकको लर्को लागेको थियो, अब पनि त्यही अनुसार प्रचार गर्न सक्नुपर्छ ।’

हिन्दु संस्कारसँग जोडिएका नेपाल र भारतका विभिन्न तीर्थस्थलहरुको आपसी सम्बन्ध रहेको स्मरण गर्दै उनले २ देशका नागरिकबीच सम्बन्ध विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।

गण्डकी प्रदेशको दक्षिणी भेगमा रहेको गजेन्द्र मोक्षधामदेखि देवघाट, रामदीधाम हुँदै मुक्तिनाथसम्मको क्षेत्रलाई धार्मिक करिडोरका रुपमा विकास गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उहाँको भनाइ थियो ।

गण्डकी प्रदेश कालीगण्डकीबाट सिञ्चित पवित्र शालिग्रामको भूमि रहेको भन्दै मुख्यमन्त्री पोखरेलले यसलाई कुनै पनि हालतमा डाइभर्सन हुन नदिने भनाइ राख्नुभयो । रामदी नजिकैबाट कालीगण्डकी डाइभर्सन गरी रुपन्देहीको तिनाउमा मिसाएर बिजुली निकाल्ने र सिँचाइका लागि प्रयोग गर्ने गरी अगाडि सारिएको आयोजनाको गण्डकी प्रदेशले यस अघि पनि विरोध गर्दै आएको छ ।

मुख्यमन्त्री पोखरेलले कालीगण्डकी नदीमात्र नभएर सभ्यतासमेत भएकाले योसँग धेरै सांस्कृतिक सम्बन्ध जोडिएको भनाइ राख्नुभयो । रामदीदेखि तलको भागको सुख्खा पार्ने र कालीगण्डकीको धार्मिक अस्तित्वलाई मेटाउने गरी यो आयोजना अगाडि सारिएकाले विरोध गर्नुपरेको उनले बताउनुभयो ।ऐतिहासिक थलो आलमदेवीको विकासका लागि प्रदेश सरकारले छिटै प्याकेज नै घोषणा गरिने प्रतिबद्धता उहाँले जनाउनुभयो । उहाँले भन्नुभयो, ‘यहाँ आउने बाटो र यसको गुरुयोजनाका बारेमा माग भएको छ, पोखरा फर्केपछि यसका बारेमा बुझेर के गर्न सकिन्छ, निर्णयमा पुग्छु ।’

उक्त अवसरमा मुख्यमन्त्री पोखरेलले आलमदेवीको ऐतिहासिक र धार्मिक पक्षका बारेमा जानकारी लिनुभयो । मन्दिर दर्शनका साथै उनले भजनकीर्तन समेत अवलोकन गर्नुभयो ।

स्थानीय बासिन्दासमेत रहेका पूर्व सांसद शंकर पाण्डेले ऐतिहासिक थलो भएपनि आलमदेवीमा आवश्यकता अनुसार विकास हुन नसकेको भन्दै मुख्यमन्त्रीको ध्यानाकर्षण गराउनुभयो । मन्दिरसम्म पुग्नका लागि सिंढी आवश्यक परेको, नेपाल एकीकरणका बेला र त्यसभन्दा अघिदेखिका महत्वपूर्ण हातहतियार मन्दिरमा रहेको र त्यसको संरक्षण जरुरी हरेको उहाँले बताउनुभयो ।

आलमदेवीको गुरुयोजना संघ सरकारबाट तयार भइसकेको र त्यसको कार्यान्वयनका लागि प्रदेश सरकारले पहल गर्न नेता पाण्डेले आग्रह गर्नुभयो । मुख्यमन्त्री पोखरेलले स्याङ्जाको कालीगण्डकी र गुल्मीको सत्यवती गाउँपालिका जोड्न कालीगण्डकीमाथि बनाइएको रुद्रबेणी पुल आइतबार उद्घाटन गर्नुभएको छ ।

उक्त पुल निर्माणका लागि करिब साढे ६ करोड रुपैयाँ खर्च भएको छ । २०६७ सालमा निर्माण सुरु भएको पुल २०७५ मा निर्माण सम्पन्न भए पनि उद्घाटन भएको थिएन ।

मुख्यमन्त्री पोखरेलले चापाकोट, गल्याङ, रुद्रबेणी सडकको स्तरोन्नतीको कामको शिलान्यास समेत गर्नुभएको छ । रुद्रबेणी खण्डको सडक स्तरोन्नतीका लागि यो वर्ष ३ करोडको ठेक्का लागिसकेको छ ।

मुख्यमन्त्री पोखरेल आइतबार कालीगण्डकीको कोटाकोटमा आयोजित आमसभामा सहभागी हुनुभयो । उहाँले कालीगण्डकी जलविद्युत परियोजना समेत अवलोकन गर्नुभयो ।

Previous articleशिव र हनुमान मन्दिर उद्घाटन, संविधानले सबैलाई समेट्न सकेन : नेता महतो
Next articleक्यान्सर अस्पतालका अध्यक्ष थापाको नेतृत्वमा दश काम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here