
नेपालगञ्ज । खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको नेतृत्व गरेको बिकास समितिको नयाँ नेतृत्व टिमले १० दिनमा उल्लेख्य काम गरेको पाइएको छ ।
नेपाल सरकारले किशोर थापाको अध्यक्षतामा २०७८ फागुन १९ गते क्यान्सर अस्पताल विकास समितिले कार्यभार सम्हालेदेखिको १० दिनमा उल्लेख्य कार्यहरु गरेको जनाइएको छ ।
समितिले १० दिनको अवधिमा अस्पतालको विकासका लागि गरेका राम्रा, सम्झिनलायक र जनप्रिय १० उल्लेख्य गरेको छ । युवा समाजसेवी थापाको नेतृत्वमा गठन गरिएको अस्पताल विकास समितिको सदस्यमा दिपा केसी, इमरान खाँ, सुर्यलाल यादवलाई मनोनित गरिएको थियो ।
नेपाल सरकार स्वास्थ्य मन्त्रालयको मन्त्रीस्तरिय निर्णयबाट नयाँ समिति गठन गरेपछि अस्पतालको समग्र विकासका लागि कार्ययोजना तयार गर्दै १० काम गर्न सफल भएको समितिले जनाएको छ ।
पश्चिम क्षेत्रका जनताले महायज्ञबाट सुरु गरिएको जनताको प्रत्यक्ष सहभागिताबाट निर्माण गरि हाल नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको क्यान्सर अस्पतालमा थापा नेतृत्वको टीम आएसँगै अस्पतालले गति लिने विश्वास थियो । यद्यपी अदालतको निर्णयले क्यान्सर अस्पतालको समग्र विकासलाई प्रभावित गरेको छ ।
अदालतले थापा नेतृत्वको समितिलाई मान्यता नदिएपछि १० दिनको अवधिमा आफ्नो समितिले गरेका कामहरुको बारेमा जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा समितिका अध्यक्ष किशोर थापाले सम्मानित अदालतको फैसलाको कार्यान्वयन गर्दै अब थप निर्णयको प्रतीक्षामा रहेको बताउनुभयो ।
छोटो समयमा प्राप्त अस्पताल कर्मचारीको माया र खजुराबासीको माया सधैव मन मस्तिष्कमा रहने बताउँदै अध्यक्ष थापाले सम्मानित अदालतले उत्प्रेषणको आदेश जारी गरिसकेको जानकारी सामाजिक सञ्जालमार्फत प्राप्त हुँदै गर्दा सम्मानित अदालतको निर्णयलाई स्वीकार्नु लोकतान्त्रिक चरित्र भएको बताउनुभयो ।
समितिले अस्पताललाई विशुद्ध सेवामूलक भावनामा कार्य गर्नुपर्छ भन्ने मनसायले समितिका पदाधिकारीले पदभार ग्रहण गर्दै पहिलो निर्णयबाट ओपिडी सेवा निशुल्क गर्ने, अस्पतालको सुरुवात गर्ने खजुराबासी र खजुराबासीले क्यान्सर अस्पतालका लागि आर्थिक मात्रै नभएर आफ्नो गाँस काटेर अन्नदान गरी अस्पताललाई यहाँसम्म ल्याउन गरेको योगदानलाई कदर गर्न खजुराबासीलाई ओपिडी सेवा निशुल्क गर्ने निर्णय गरेको छ ।
यस्तै समितिले कार्यालय सहयोगीबाट शुरु गरेको छलफल कर्मचारी तथा विशेषज्ञ डाक्टरहरुसँग अस्पताल विकासको लागि पहल कदम सुरु गरिएको र मेसिन खरिदका लागि मन्त्रालयले रोक्का राखेको ३० करोड रकम निकास गर्न विकास समिति सफल भएको छ ।
यस्तै चैत्र १ गते बसेको समितिको दोस्रो बैठकले अस्पतालको संस्थापक सदस्यहरुलाई ७५ प्रतिशत र साधारण र आजिवन सदस्यहरुलाई ५० प्रतिशत उपचारमा छुट दिने निर्णयका साथै संस्थापक तथा आजिवन सदस्यहरुलाई परिचयपत्र निर्माण गरी वितरण गरिएको छ ।
यसैगरी अस्पतालमा भौतिक प्रगतिलाई निरन्तरता दिन र अत्यावश्यक पूर्वाधार विकासको लागि समेत अस्पताल विकास समितिले कार्य योजना अगाडी बढाएको थियो भने अस्पताल हातामा हाइमास्ट लाइट जडान, अक्सिजन प्लान्ट, सेवाग्राहीको लागि अत्याधुनिक शौचालय निर्माण गर्ने निर्णयसहित बोलपत्र आव्हान गरिसकेको छ ।
त्यस्तै लिनायक मेसिन राख्ने बंकर भवनको निर्माण कमसल भएकोले फाइल अध्ययन प्रक्रिया अगाडी बढाउँदै रिनोभेसनको लागि बोलपत्र आव्हान समेत भइसकेको छ भने कर्मचारीको हकहित र सुविधाको लागि कर्मचारी प्रशासन सम्बन्धी नियमावली तर्जुमा अगाडी बढाइएको छ ।
यसै क्रममा क्यान्सर अस्पतालको बृहतर विकासका लागि नयाँ योजना बनाउने र जिल्लामै गर्व गर्न लायक अस्पतालका रुपमा विकासित गर्न विभिन्न चरणका छलफलहरु भएका थिए ।
र अस्पताल नेपाल सरकारलाई हस्तान्तरण गर्दा प्रखर परोपकार मिसन संस्थामा रहेको १० करोड ६७ लाख रुपैयाँको हरहिसाव चुस्त दुरुस्त भए नभएको हेरिदिन संस्थापक सदस्यहरुको अनुरोध कार्यान्वयन प्रक्रियामा रहेको थियो । जुन समय अभावको कारण पूरा गर्न नसकिएको अध्यक्ष थापाले बताउनुभयो ।





