
साहिल शेष
नेपालगन्ज । इस्लाम धर्मवलम्बिहरुको पवित्र महिना रमजानको पहिलो रोजा आजबाट शुरू भएको छ । नेपाल लगायत छिमेकी राष्ट्र भारतमा पनि शनिबार साँझ चन्द्रमा देखिएपछि नमाजे तराबीह पढेका थिए ।
शनिबार साँझ पवित्र महिना रमजानुल मुबरकको चन्द्रमा देखिएपछि आइतबारदेखि पवित्र महिना रमाजानुल मुबारक पर्व शुरु भएको घोषणा गरेको हो । यो महिनामा मुस्लिम समुदायले एक महिनासम्म निराहार व्रत बस्ने गर्दछन् ।
बिगत दुई बर्षदेखि पबित्र महिना रमजान पर्व कोरोनाका कारण भएको लकडाउनले हर्षोल्लासका साथ मस्जिदमा गएर मनाउन नपाएपछि यस वर्ष भने हर्षोल्लासका मनाउने मुस्लिमहरू बताउँछन् ।
अरेबिक क्यालेन्डर अनुसार नवौं महिनालाई पाक महिना मानिन्छ । यो महिना अवधिभर मुस्लिम समुदायले सूर्योदय पश्चात र सूर्यास्त हुनु अघि खाना र पानी लिँदैनन् । यो महिनामा मानिसहरू अल्लाहको इबादत (पूजा) गर्छन् र निराहार व्रत बस्छन् ।
यस रमजान महिनामा मुस्लिमहरुको महान ग्रन्थ कुरान अवतरण भएको हो । यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास छ ।
यस्तो अवस्थामा रमजानको समयमा केही नियमहरू पालना गर्नु धेरै महत्त्वपूर्ण छ । गरिब, असहायलाई मद्दत गर्नु तथा फितरा, जकात दिनु यो महिनाको ठूलो विशेषता हो ।
रमजानको समयमा, मुस्लिमहरूले आफ्नो आध्यात्मिक स्तरलाई बढाउने र ईश्वरप्रति भक्तिको भावना राख्ने अपेक्षा गरिन्छ ।
रमजानको समयमा सबै मानिसहरूलाई उपवास बस्न अनिवार्य मानिन्छ । नवजात बच्चा, गर्भवती र महिनावारी भएका महिलाले व्रत बस्न पर्दैन ।
यसबाहेक बिरामी भएका व्यक्तिलाई पनि व्रत नराख्ने अनुमति दिइएको धार्मिक अगुवाहरू बताउँछन् । इस्लामिक क्यालेन्डर अनुसार रमजानको महिना पूर्ण एक महिनाको हुन्छ । यद्यपि, रमजानको मिति पूर्णतया चन्द्रमामा निर्भर गर्दछ ।
रमजान महिना कहिले २९ दिनको हुन्छ त कहिले ३० दिनको अर्थात एक महिना ब्रत बस्दा अन्तिम दिन चन्द्र हेरेर त्यसको भोलिपल्ट महान पर्व ईदुल फित्र पर्व मनाईन्छ ।





