
नेपालगञ्ज । नेपाल प्रेस युनियनका केन्द्रिय अध्यक्ष बद्री सिग्देलले मिडिया विरोधी कानून तत्काल खारेजी गरिनुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन बाँके शाखाले नेपालगन्जमा शनिबार आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दैै उहाँले यस्तो बताउनुभएको हो ।
‘केपी शर्मा ओलीको पालामा ल्याइएका मिडिया विरोधी कानूनको प्रेस युनियनले खारेजी गर्न जोडदार माग गर्छ,’ सिग्देलले भन्नुभयोे ‘कुनैपनि बहानामा मिडियामाथि अंकुश लगाउने दुस्साहस कसैले गर्छ भने युनियनले त्यसको कडा रुपमा प्रतिवाद गर्दछ ।’
आसन्न स्थानीय तहको निर्वाचनमा काँग्रेस लगायत गठबन्धनका उम्मेदवारलाई जिताउन सक्रिय भएर लाग्न युनियन सम्बद्ध पत्रकारलाई उहाँले निर्देशन दिनुभयो । स्थानीय तह निर्वाचनका लागि गठबन्धन गरिएकोले पार्टीले बनाएको आधिकारिक उम्मेदवारलाई जिताउन युनियन अग्रसर हुनुपर्ने उहाँको धारणा छ ।
यस्तै प्रेस युनियनको केन्द्रिय महाधिवेशन तोकिएकै समयमा हुने सिग्देलले बताउनुभयो । विभिन्न परिस्थितीका कारण युनियनको महाधिवेशन पछाडी धकेलिएको र आफु नेतृत्व हस्तान्तरण गर्न आतुर रहेको बताउनुभयो ।
‘युनियनको महाधिवेशन आगामी जेठ १३ र १४ गते हेटौँडामा भब्य रुपमा सम्पन्न हुनेछ, यसका लागि म सबै साथीहरुलाई सकृयताका साथ लाग्न आग्रह गर्दछु,’ उहाँले भन्नुभयो ।
नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीको सभापतित्वमा सम्पन्न भएको भेटघाट कार्यक्रममा अकोरावका केन्द्रिय अध्यक्ष अर्जुन गिरी, युनियनका केन्द्रिय उपमहासचिव प्रेम केसी, कोषाध्यक्ष सरोज अधिकारी, केन्द्रिय सदस्य जयसिंह केसी, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषी चौलागाई, नेपाल पत्रकार महासंघ बाँके शाखा अध्यक्ष दामोदर भण्डारी, युनियन बाँकेका पूर्वअध्यक्ष मेघराज ओली, निर्वतमान अध्यक्ष जयनारायण शाह, सल्लाहकार चेतकान्त भट्टराई लगायतले युनियनको महाधिवेशन र स्थानीय तह निर्वाचनमा युनियनले खेल्नुपर्ने भूमिका लगायत विषयमा आ–आफ्नो धारणा राख्नुभएको थियो ।
युनियनको अध्यक्ष लड्ने अधिकारीको घोषणा
युनियनका केन्द्रिय कोषाध्यक्ष सरोज अधिकारीले आफु युनियनको नवौँ महाधिवेशनमा अध्यक्षको उम्मेद्वार रहेको घोषणा गर्नुभएको छ ।
‘म स्वभाविक रूपमा अध्यक्षको दाबेदार हुँ ।’ उहाँले भन्नुभयोे ‘नेतृत्व जाम भएको छ, युवालाई नेतत्वमा स्थापित गरेर त्यो खुलाउन चाहान्छु ।’
युनियनका केन्द्रिय कोषाध्यक्ष अधिकारीले अगाडी थपे–‘युनियनभित्र गुट उपगुटको समस्या केही जिल्लामा देखिएकाले यसले सबैभन्दा समस्या जिल्लामै ल्याउँछ’ उहाँले भन्नुभयोे ‘युनियनको आफ्नै विधि र विधान रहेको छ । त्यही अनुरुप संगठन अघि चलेमात्र संगठनलाई बलियो बनाउन सकिन्छ ।’
कोषाध्यक्ष अधिकारीले युनियनले अब समयमै महाधिवेशन गर्ने गरि संकल्प प्रस्ताव अघि बढाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘केन्द्रिय कार्यसमितिले आठ वर्षसम्म अधिवेशन गर्न सकेन भनेर अहिले जिल्लामा पनि त्यही परम्परा स्थापित हुन लागेको छ ।’ युनियनका शाखा बलियो भएपछि मात्र केन्द्र बलियो हुने उहाँको धारणा छ ।





