
काठमाण्डौं । निर्वाचन आयोगले आचार संहिताको उल्लंघन गरेको भन्दै पाँच राजनीतिक दल तथा नेतालाई कारबाहीको सिफारिस गरेको छ ।
आयोगको सचिवालयले बिहीबार बसेको बैठकमा आचार संहिताको उल्लंघन गरेको भन्दै राजनीतिक दल तथा नेताहरूलाई कारबाही गर्न सिफारिस गरेको स्रोतले जनाएको छ ।
आयोगले कारबाही सिफारिस गर्नुअघि स्पष्टीकरण सोधेको थियो । त्यसपछि आयोगले तीन राजनीतिक दल, एक सासंद र एक सभामुखलाई कारबाही गर्न सिफारिस गरेको हो ।
सत्ता गठबन्धनमा रहेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई बिहीबार बसेको बैठकमा आयोगले कारबाही गर्न सिफारिस गरेको हो ।
यस्तै प्रतिनिधि सभा सदस्य शंशाक कोइराला र गण्डकी प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीलाई पनि कारबाही गर्न सिफारिस भएको हो ।
अघिल्लो चुनावमा आयोगलाई बुझाएको खर्च विवरण भन्दा बढी खर्च भएको भन्ने अभिव्यक्ति उनीहरूले दिएका थिए । पछि आयोगले उनीहरूलाई पनि ‘निर्वाचनमा गरेको खर्च विवरण ढाँटेको’ भन्दै कारबाही गर्न सिफारिस गरेको हो ।
यस्तै राप्रपाले चुनावी प्रचारप्रसार गर्दा कार्यक्रममा बालबालिकाहरूलाई प्रयोग गरेको, एकीकृत समाजवादीले भृकुटीमण्डपमा आमसभा गर्दा आचारसंहिता विपरीतका काम गरेको र माओवादी केन्द्रले नेपाल विद्युत प्रधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको तस्बिर राखी प्रचार प्रसारको सामग्री बनाएको भन्दै तीनै दललाई स्पष्टीकरण सोधिएको थियो । जवाफ पाएपछि आयोगको सचिवालयले तीनै दललाई पनि कारबाहीको सिफारिस गरेको स्रोतले जनाएको छ ।
यसरी आचार संहिता विपरीत काम गरेको पाएपछि आयोगले निर्वाचन आयोग ऐन २०७३ को दफा २३ बमोजिम कारबाहीको लागि सिफारिस गरेको हो ।





