
नेपालगञ्ज । स्थानीय तह निर्वाचनमा नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १७ का वडाध्यक्षका उम्मेदवार अजयकुमार पाठकको मनोनयन रद्द भएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगञ्जका अनुसार बैंकले कालोसूचीमा राखेकाले पाठकको मनोनयन रद्द भएको जनाएको छ ।
बैंकले कालोसूचीमा राखेकाले पाठकको मनोनयन रद्द भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगञ्जका सहायक निर्वाचन अधिकृत नगेन्द्र चौलागाईले जानकारी दिनुभयो ।
२०७४ को निर्वाचनमा माओवादी केन्द्रबाट वडाध्यक्षमा विजयी भएका पाठक टिकट पाउनका लागि मनोनयन हुनुअघि नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमाले प्रवेश गर्नुभएको थियो ।
यस्तै मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपालगञ्जभित्र दुई जना वडा सदस्यको पनि मनोनयन रद्द भएको छ ।
नेपालगञ्ज वडा नं.३ की दलित महिला सदस्य पदका उम्मेदवार निर्मलादेवी बंशाकार र वडा नं.७ की दलित महिला सदस्य पदका उम्मेदवार सञ्जु बंशाकारको मनोनयन पनि रद्द भएको हो ।
उनीहरु दुवै जना उम्मेदवारको दलित भन्ने निस्शा नभएको कारण मनोनयन रद्द भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।





