
काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ किलो ३ सय ३२ ग्राम सुनसहित पाँच जना पक्राउ परेका छन् ।
दुबईबाट काठमाडौं आएको हिमालय एयरलाइन्सको विमान भित्र सरसफाइ गर्ने क्रममा विमानको शौचालय भित्र फोहरसँगै रहेको सुनका विस्कुटहरू लिएर बाहिर निस्कने क्रममा उनीहरू पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा पाँचथर याङवरक गाउँपालिका-४ का २८ वर्षीय भिम कुमार माबो, नुवाकोट तादी गाउँपालिका-५ का २७ वर्षीय सुमन तामाङ, उदयपुर लिम्चुङबुङ गाउँपालिका-२ का २८ वर्षीय राजेश राई, दोलखा गौरीशंकर गाउँपालिका-२ का ४१ वर्षीय हेम बहादुर थापा र सप्तरी सुरूंगा नगरपालिका-४ का ३६ वर्क्षीय ताराकान्त चौधरी रहेको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक हिमालय कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
बाहिर ल्याई फोहोर जम्मा गर्ने स्थानमा आई निजसँगै काम गर्ने सहकर्मी साथी सुमनलाई सुनको बिस्कुटहरु बाँडी लग्ने क्रममा पक्राउ गरेको हो ।
माबोले बिमानको शौचालयभित्र फोहरसँगै फेला पारेका सुनका विस्कुटहरू बाहिर फोहोर जम्मा गर्ने स्थानमा आएर उनीसँगै काम गर्ने सुमन तामाङसँग बाँडेका थिए ।
त्यसपछि सुनका बिस्कुट आ आफ्नो मनि पर्समा लुकाएर विमानस्थलको फलामे गेटहुँदै बाहिर निस्कने क्रममा स्क्रिनिङ गर्दा दुबैको साथबाट समान १०/१० वटा सुनको बिस्कुट फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुबैको साथबाट समान ११६६ ग्राम सुन फेला परेको हो । उनीहरूलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा थप तीन जना संलग्न रहेको पाइएको प्रहरीले जनाएको छ ।
उनीहरूलाई नियन्त्रणमा लिएर बरामद सुनसहित आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय पठाएको प्रहरीले जनाएको छ ।





