
साहिल शेष, नेपालगन्ज । जति-जति निर्वाचनको दिन नजिकिँदै छ, त्यति-त्यति नै चुनावी सरगर्मी बढदैछ । निर्वाचनमा होमिएका उम्मेदवारलाई जिताउन नेता कार्यकर्ताहरू घरदैलो कार्यक्रमलाई तिब्रता दिएका छन् ।
बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरी नेपाली काँग्रेसका तर्फबाट जानकी गाउँपालिका अध्यक्ष पदका उम्मेदवार छब्बन खाँ र उपाध्यक्ष पदका उम्मेदवार रामप्यारी यादवलाई जिताउन नेपाली कांग्रेसले पनि घरदैलो कार्यक्रमलाई तिब्रता दिएको हो ।
घरदैलोमा अध्यक्ष पदका उम्मेदवार खाँसहितका उम्मेदवारहरु मतदाताहरूलाई भेटेर नेपाली कांग्रेसलाई मतदान गर्न अनुरोध गरेका छन् ।
जानकी १ देखि ६ वटै वडामा घर-घर, टोल-टोल र बस्तीमा नेपाली काँग्रेसको प्रचार-प्रसार सहितको घरदैलो तथा भेटघाट कार्यक्रम गरिएको छ ।
भेटघाटमा जनताले पनि नेपाली काँग्रेसलाई जिताउने प्रतिबद्धता व्यक्त गरेका छन्, मर्दा पर्दा काम लाग्ने व्यक्तिलाई नै जिताउनु पर्छ भन्ने एक मात्र आवाज जनताहरूबाट निस्केको थियो ।
बिगत ५ बर्षदेखि जनताको सेवामा अनवरत लाग्नु भएका खाँलाई मतदान नगरेर कसलाई गर्ने स्थानीय जनताले भने । चुनावी माहोल तातेको बेला युवाहरु समेत प्रचार-प्रसारमा पनि लागेका छन् ।
घरदैलोमा वडा अध्यक्ष र वडा सदस्य पदका उम्मेदवार पनि सँगै हिडेका छन् । प्रचार-प्रसारमा पार्टी कार्यकर्ता मात्र नभएर वडाका बृद्धा र युवाहरू पनि लागेको स्थानीय शाकिर खाँले बताउनुभयो ।
अध्यक्षका उम्मेदवार खाँले भन्नुभयो “यदि जनताले आफ्नो प्यानललाई निर्वाचित गराउनुभयो भने मालिकभन्दा पनि सेवक भएर काम गर्ने जनतासंग प्रतिवद्धता व्यक्त गर्दछु ।”
जनताको अपेक्षा र समस्या पहिल्याउन जनताको घर घरमा पुगेको जानकी ५ मा काँग्रेसको तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवार टिकानाथ यादवले जानकारी गराउनुभयो ।





