
नेपालगन्ज । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको दिन नजिकिदै जाँदा नेपालगन्ज उपमहानगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयर पदका उम्मेदवार पशुपतिदयाल मिश्र र उपमेयर पदका उम्मेदवार शान्ति ढकाल सहित बिभिन्न वडाका उम्मेदवारहरु चुनावी अभियान लिएर मतदाताका घर–घरमा पुग्नुभएको छ ।
उम्मेदवार सहित चुनावी अभियान टोल, वस्ती र घर–घरमा पुगेपछि चुनावको एमालेको पक्षमा देखिएको छ ।
मतदाताका घर–घरमा पुगेका उम्मेदवारहरुले आफ्नो कार्यकाल भित्र गर्न सकिने विकासका अल्पकालिन र दिर्घकालिन योजनाहरु सुनाउँदै मत माग्न सुरु मेयर पदका उम्मेदवार मिश्रले बताउनुभयो ।
नेपालगन्जको विकासका लागि आफुले गरेका प्रतिवद्धता पुरा गर्ने बताउँदै मिश्रले एकपटक अवसर दिन अनुरोध गर्नुभयो । पदमा नभएपनि नेपालगन्जको विकासका लागि लागेका मिश्र यसपटक मेयर जितेर यहाँको विकासलाई तिब्रता दिने अठोट लिनुभएको छ ।
नेकपा एमालेले जिल्लाका सवै स्थानीय तहमा चुनावी अभियान सञ्चालन गरेको प्रचार विभागका प्रमुख सतिस निरौला बताउनुभयो ।
अभियानका क्रममा घरदैलो र चुनावी सभाका कार्यक्रम भएको उहाँले बताउनुभयो । जिल्लाका ८ वटै स्थानीय तहमा उम्मेदवार खडा गरेको नेकपा एमाले एक्लै चुनावी मैदानमा उत्रिएको छ ।
टोलवस्तीका समस्याहरुलाई आफुहरुले प्राथमिकतामा राखेको नेकपा एमालेबाट नेपालगञ्ज नगरका प्रत्यासी मिश्रले जानकारी दिनुभयो ।
आफुले स्थानीय सरकारको प्रमुखको जिम्मा पाएको खण्डमा नगरमा सडक, खानेपानी, शिक्षा, स्वास्थ्य र स्टार्टअप कल्चरको क्षेत्रमा योगदान दिने मेयरका प्रत्यासी मिश्रले प्रतिबद्धता जनाउनुभयो ।
आफुहरु निर्वाचित भएर आएमा सडक कालोपत्रे, सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि, कृषि पेशातर्फ युवालाई आकर्षित गर्ने लगायतका गाउँमै रोजगारी सिर्जना हुनेखालका कार्यक्रमहरु ल्याउने नगरका उपमेयरका उम्मेद्धार शान्ति ढकालले बताउनुभयो ।





