
दाङ । रुकुम पश्चिममा चुनाव प्रचार प्रसारका क्रममा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच ढुंगा हानाहान भएको छ ।
त्रिवेणी गाउँपालिकामा बिहीबार बिहान दुबै पक्षका कार्यकर्ताबीच ढुंगा हानाहान र कुटपिट भएको हो ।
डिएसपी विष्णुप्रसाद सोतीका अनुसार घटनास्थलमा प्रहरी परिचालन गरिएको छ । त्रिवेणी गाउँपालिका अध्यक्ष उम्मेदवार अमरसिंह खड्का सवार गाडीमाथि माओवादी कार्यकर्ताले आक्रमण गरेको कांग्रेसको दाबी छ । त्रिवेणी ९ बाट वडा नम्बर ५ जाने क्रममा ढुंगा प्रहार भएको थियो ।
घटनामा ६ जना सामान्य घाइते छन् । माओवादीले भने जिल्ला कमिटी सदस्य चुडामणी बस्नेतको घरमा कांग्रेसले तोडफोड र ढुंगा हानेको दाबी गरेको छ । एकअर्काविरूद्ध ढुंगा हानाहानको खबर आएपछि प्रहरी पठाइएको थियो ।
‘आफ्ना उम्मदेवार चढेको गाडीमा माओवादीले ढुंगा हानेको कांग्रेसको दाबी छ, माओवादीले पनि जिल्ला कमिटी सदस्यको घर कांग्रेस कार्यकर्ताले तोडफोड गरेको भनेको छ। हामी सत्यतथ्य बुझ्दैछौं,’ डिएसपी सोतीले भन्नुभयो ।
जिल्लाका ६ पालिकामध्ये चार पालिकामा कांग्रेस र नेकपा एमालेले चुनाबी तालमेल गरेका छन् । तर त्रिवेणी गाउँपालिकामा भने सबै दलहरु एक्ला एक्लै प्रतिस्पर्धामा छन् । झडप भएको वडामा भने कांग्रेस र एमालेका बीचमा चुनावी तालमेल छ ।