नेपालगञ्ज । नेपालगन्जको लागि बिन्दु चर्ती मगर नौलो नाम होइन । धेरै महिला उधमीहरुले उद्यमी बिन्दुको नामले चिन्छन त कतिले बिन्दुलाई पुष्प व्यवसायीको नामले चिन्ने गर्छन् ।
त्यस्तै नेपालगन्जका विभिन्न संघ–संस्थामा सक्रिय रहेका ठूलो जमातले बिन्दुलाई समाजसेवीको रुपमा पनि चिन्ने गर्छन् । अनेक संघ–संस्थासँग आवद्ध रहेर लामो समयदेखि सामाजिक कार्यमा सक्रिय रहँदै आएकी चर्तीमगरलाई चिन्ने अनेकन उपनामहरु छन् ।
पुष्प व्यवसायी चर्ती मगर महिला उधमीहरुको लागि एक प्रेरणाको स्रोत हुनुहुन्छ भने दिनदुखीको लागि अभिभावक पनि । व्यवसायसँगै समाजसेवा र राजनीतिमा पनि उत्तिकै सक्रिय चर्तीमगर आसन्न वैशाख ३० गते हुने नेपालगन्ज उप–महानगरपालिकाको निर्वाचनमा राप्रपाबाट उपमेयर पदमा प्रत्यासीको रुपमा उभिनुभएको छ ।
राप्रपाकै डा.धवल समशेर राणाले २०७४ को स्थानीय निर्वाचनमा जित हासिल गरेको स्थानीय तह भएकाले पनि राप्रपालाई गतिलो उम्मेदवार दिनुपर्ने चर्को दबाबका बिच राप्रपाले बिन्दुलाई नेपालगन्जको भाबी उपमेयरको रुपमा प्रस्तुत गरेको छ । जसलाई स्थानीय समेतले स्वीकार्दै गरेको पाइन्छ ।
नेपालगन्जको लागि चर्ती मगर आफैमा उपमेयरको ‘फाइटिङ क्यान्डिडेट’ हुनुहुन्छ, त्यसैमा नेपालगन्जका मेयर डा.धवल समशेर राणाको बिरासत जोगाउन राणा जस्तै स्वच्छ छवि भएको उम्मेदवारको आवश्यकता बिन्दुले पूरा गरेको धेरैको बुझाइ छ ।राप्रपाको ईलाका सचिवबाट राजनैतिक यात्रामा प्रवेश गर्नुभएकी चर्ती मगर नेपालगन्ज नगरमा जहाँ–जहाँ चुनावी अभियान लिएर भोट माग्दै जानुहुन्छ, त्यहाँका नगरबासीको अथाह माया र आशिर्वाद पाउनुभएको छ ।
व्यवसायमा नयाँ आउने महिला उधमीदेखि लिएर केही गर्ने जोश र भिजन लिएर व्यवसायमा छिर्ने महिला दिदिबहिनीको लागि प्रेरणा बन्दै स्वरोजगार बन्न प्रेरित गर्ने चर्तीमगर सबैको ‘बिन्दु दिदी’ बन्ने गरेकै कारण उहाँको चुनावी माहोल विपक्षी भन्दा धेरै अगाडी रहेको नगरबासीको बुझाइ छ ।
राजनीतिज्ञ भन्दा समाजसेवीको रुपमा परिचय बोकेको कारण पनि नगरबासी चर्तीमगरलाई जित स्वीकारयोग्य रहेको बताउँछन् । पद र प्रतिष्ठा भन्दा सेवामा धेरै विश्वास गर्ने बिन्दु नेपालगन्ज उप–महानगरपालिकाको उपमेयर भएको खण्डमा नगरबासीको लागि उहाँले गर्नसक्ने कामहरुलाई मध्यनजर गर्दै चर्तीलाई उपमेयरमा जितेको देख्ने सपना रहेको नेपालगन्जवासीको बुझाइ छ ।
नेपालगन्जलाई ‘ग्रीन एण्ड क्लिन’ शहर बनाउने सपना लिएकी चतीमगरले अति बिपन्न परिवार तथा महिलालाई आत्मनिर्भर कसरी बनाउन सकिन्छ भनेर लाग्ने योजना रहेको बताउनुहुन्छ । उसो त चर्तीमगरले व्यवसायीक जीवनमै धेरै महिलालाई उधमी बन्न प्रेरित गरेको र उधमी बनाउन विभिन्न तालिम आयोजना गरेर सफल बनाएका उदाहरणहरुको कमी छैन ।
स्थानीय तह निर्वाचन लक्षित चुनावी अभियान र घरदैलो कार्यक्रममा मतदाता रिझाउन उम्मेदवारहरु लागि परिरहेको अवस्थामा मध्य तथा सुदूरपश्चिमको केन्द्र मानिने नेपालगन्जमा राप्रपाबाट मेयर र उपमेयरमा क्रमश नन्दलाल वैश्य र चर्ती मगर चुनावी अभियानमा होमिनुभएको छ ।