
नेपालगञ्ज । बाँकेमा राति कारले किचेर तीन जनाको मृत्यु भएको घटनाका आरोपी कार चालकलाई बाँके जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।
कार चालक नेपालगञ्ज उपमहानगरपालिका वडा नं.१० का इन्द्रबहादुर थापालाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
गत चैत २७ गते बिपी चोकनजिकै थापाले चलाएको कारले किच्दा सडकमा हिँडिरहेका तीन पैदलयात्रुको मृत्यु भएको थियो ।
मृत्यु हुनेमा नेपालगञ्जकी ६५ वर्षीया समिना इदिसी, ५ वर्षीय मोहम्मद कासिम इद्रिसी र ६ वर्षीय मोहम्मद अली हलवाई थिए। समिना र कासिम नातेदार र अली हलवाई उनीहरूका छिमेकी हुन् ।
यही मुद्दामा बाँके जिल्ला अदालतमा बिहीबार भएको थुनछेक बहसमा न्यायाधीश ईश्वरी प्रसाद भण्डारीको एकल इजलासले चालक थापालाई पुर्पक्षका लागि थुनामा पठाएको हो ।
थापाले कार तीव्र गतिमा चलाएको हुँदा पैदलयात्रुलाई किचेको सिसीटिभी फुटेज तथा प्रमाण समेतको आधारमा अदालतले उनलाई थुनामा पठाएको हो ।
मुद्दाको सुनवाइमा पीडित जाहेरवालाको तर्फबाट जिल्ला सरकारी वकिल कार्यालय, बाँकेका जिल्ला न्यायाधीवक्ता वासुदेव शर्मा, सहन्याधीवक्ता दामोदर गौतम, अधिवक्ताद्वय विश्वजित तिवारी र पुनम श्रेष्ठ र प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ता भोलासिंह हमाल, अधिवक्ताहरू सुनिल श्रेष्ठ, लोकबहादुर शाह र गणेश थारूले बहस गर्नुभएको थियो ।
बहसमा पीडितको तर्फबाट सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष अधिवक्ता विश्वजित तिवारी लगायतको समूहले कानुनी सहयोग गरेको छ । संस्थाले गरिब तथा असहाय पीडित र न्याय नपाएकाहरूका लागि निःशुल्क कानुनी सेवा प्रदान गर्दै आएको छ ।
सवारी तथा यातायात ऐन २०४९ को दफा १६१ (१) अनुसार चरम लापरबाही तारिकाले सवारी चलाएर जानीजानी मारेको अवस्था रहे जन्मकैदको सजायको समेत व्यवस्था रहेको अधिवक्ता बलबहादुर चन्दले बताउनुभयो ।
दुर्घटनापछि जिल्ला प्रहरी कार्यालय, बाँकेले चालकले मादक पदार्थ सेवन गरेको देखिन आएको जानकारी दिएको थियो ।





