
सुर्खेत । सुर्खेतमा नेकपा एमाले र नेपाली कांग्रेसका समर्थकबीच झडप हुँदा ६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार सिम्ता गाउँपालिका–६ स्थित ऋषिडाँडामा दुई पक्षबीच झडप भएको हो ।
मंगलबार राति साढे ११ बजेतिर सामान्य विवाद भएको थियो । त्यसपछि दुई पक्षबीच झडप भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।
उक्त झडप नियन्त्रणमा खटिएका डिएसपीसहित चार जना प्रहरीलाई सामान्य चोट लागेको उहाँले बताउनुभयो । यस्तै, नेकपा एमाले समर्थक २४ वर्षीय इन्द्र विक र ३६ वर्षीय सुनिल विक झडपमा परी घाइते भएका छन् ।
‘उनीहरू घाइते भएको प्रहरीलाई खबर आएको थिएन, पहिल्यै अस्पताल लगिसकिएको रहेछ,’ डिएसपी घर्तीले भन्नुभयो, ‘यताबाट डिएसपीको नेतृत्वमा प्रहरी टोली घटनास्थल गएर सम्झाइ बुझाइ गरी पठाइएको छ, अहिले अवस्था सामान्य छ।’
घाइते दुई जनाको नेपालगञ्जमा उपचार भइरहेको छ । प्रहरीले सम्झाउने क्रममा कांग्रेस समर्थकपछि हटेपछि एमाले समर्थकहरूले प्रहरीमाथि आक्रमण गरेपछि प्रहरीसमेत सामान्य घाइते भएका हुन् ।





