
नेपालगञ्ज । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले पिपिरी मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।
स्थानीय तह निर्वाचन अन्तर्गत मन्त्री अथकले कोहलपुर नगरपालिका वडा नं.९ को पिपिरी मतदान केन्द्रबाट मतदान गर्नुभएको हो ।
मतदानपछि उहाँले मताधिकारको प्रयोग गर्न पाउनु सबैको अधिकार भएको र सबैले मताधिकार प्रयोग गर्न पाउने सहज बातावरण बनाउन अनुरोध गर्नुभएको हो ।
शुक्रबार बिहान मन्त्री अथकसँगै लुम्बिनी प्रदेश साँसद पार्वती पुन (उषा)ले सबैभन्दा पहिले मतदान गरी मतदान कार्यको शुभारम्भ गर्नुभयो ।
पिपिरीस्थित कृषि विकास बैकको तालिम केन्द्रमा रहेको मतदान केन्द्रमा वडा नं.८ र ९ को बुथ स्थापना गरिएको छ ।
यस्तै लुम्बिनी प्रदेश स्रांसद कृष्णा केसी (नमूना)ले राप्ती सोनारी गाउँपालिका–९ मा रहेको जनता मावि मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।
शुक्रबार बिहान सांसद नमुनाले उक्त मतदान केन्द्रमा पहिलो मतदान गर्नुभएको हो । जनता मावि मतदान केन्द्रमा चार वटा मतदान बुथ केन्द्र रहेका छन् ।
यस्तै जसपाका प्रभावशाली नेता एवं पूर्व मन्त्री मोहम्मद इस्तियाक राईले नेपालगञ्ज १५ स्थित मतदान केन्द्रमा पहिलो मतदान गर्नुभएको छ ।
मतदान गर्दै पुर्वमन्त्री राईले नागरिकले अधिकारको प्रयोग गर्नुपर्ने बताउनुभयो । उहाँले आफ्नो मताधिकारको सही सदुपयोग गर्न अनुरोध समेत गर्नुभयो ।





