मधुवनमा गोली चलाउने आदेश दिइएको थिएन : गृहमन्त्री खाण

नेपालगञ्ज । गृहमन्त्री बालकृष्ण खाणले बर्दियाको मधुवन नगरपालिका वडा नम्बर २ चनागाउँमा भिड नियन्त्रणका लागि प्रहरीलाई गोली चलाउने आदेश नदिइएको प्रष्टयाउनुभएको छ ।

सोमबार प्रहरीको गोली लागेर स्थानीय नविना चौधरीको मृत्यु भएको थियो । उक्त घटनाबारे सांसदहरूले सरकारको जवाफ मागेका थिए ।

आज प्रतिनिधि सभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उक्त घटनाबारे जवाफ दिन गृहमन्त्रीलाई रूलिङ गर्नुभएको थियो ।

गृहमन्त्री खाणले चितुवा र बाघबाट गाउँलाई सुरक्षित राख्न तारबार लगाउने जस्ता माग राखेर स्थानीयले हुलाकी राजमार्ग बन्द गरेको र सुरक्षाकर्मीले पाँच घन्टापछि सडक खुलाउन खोज्दा झडप भएको बताउनुभयो ।

‘सडक अवरूद्ध भएको पाँच घन्टापछि खोल्न खोल्दा भिडले ढुंगामुढा गरेको थियो । त्यसक्रममा अश्रुग्यास र गोली चलेको थियो । स्थानीय नविना चौधरीको गोली लागेर दुस्खद निधन भएको छ,’ उहाँले भन्नुभयो, ‘बर्दियाका प्रमुख जिल्ला अधिकारीले गोली चलाउने आदेश दिएको छैन भन्नुभएको छ । कसको आदेशले गोली चलेको हो छानबिन समितिले अध्ययन गरेपछि जानकारी हुनेछ ।’

नागरिकहरूले गरेका विरोध प्रदर्शनमा गोली चलाउने आदेश सरकारले नदिएको पनि खाणले बताउनुभयो ।

‘नागरिकहरूको भिड र अवरोधमा गोली चलाउने आदेश छँदैछैन । सम्झाइबुझाइ गर्ने, सर्वपक्षिय वा सर्वदलीय बैठक गर्ने हो । कम शक्ति प्रयोग गर्ने हो, गोली प्रहार गर्ने आदेश छैन,’ उनले भने, ‘त्यहाँ गोली चल्नु र एक जनाको निधन हुनु दुस्खद हो ।’

उक्त घटनाको छानबिन गर्न गृह मन्त्रालयका सहसचिव हरि घिमिरे नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन भएको उहाँले बताउनुभयो ।

‘गोली चलाउने आदेश कसले दियो भन्ने आवश्यक अध्ययनपछि थाहा हुन्छ । दोषीमाथि कारबाही गरिन्छ,’ उहाँले भन्नुभयो । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरूले गोली चलाउनेमाथि कारबाही हुनुपर्ने माग गरेका थिए ।

Previous articleप्रधानमन्त्रीलाई ज्ञापनपत्र : रेशम चौधरीलाई रिहा गर्न लोसपाको माग
Next articleसंघको स्थापना दिवसमा जमुनाहा नाकामा मास्क बितरण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here