
गोविन्द शर्मा
नेपालगञ्ज । अर्कै व्यक्तिको सट्टामा रोल्पा कारागारमा सजाय भोगिरहेको अवस्थामा ज्यान गुमाएका नेपालगञ्ज २ का सुन्दर हरिजनको मृत्युको सम्बन्धमा अधिकारकर्मीहरूको संयुक्त टोलीले स्थलगत अनुगमन गरी प्रतिवेदन सार्वजनिक गरेको छ ।
मङ्गलवार नेपालगञ्जमा प्रतिवेदन सार्वजनिक गर्दै टोलीले घटना अत्यन्त गम्भीर रहेको भन्दै कारागार प्रशासन र नियमनकारी निकायमाथि प्रश्न चिह्न खडा गरेको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय, उच्च अदालत बार नेपालगञ्ज, एडभोकेसी फोरम लगायतका सङ्घ संस्थाहरूले घटनाको स्थलगत अनुगमन गरी प्रतिवेदन सार्वजनिक गरेका हुन् ।
इन्सेक नेपालगञ्जका संयोजक भोला महतले कैदीपुर्जी एकले पाएको सजाय अर्कोले भोग्ने गरी कैदीपुर्जी र व्यक्तिसमेत साटिएको घटनाले कारागार प्रशासनको गम्भीर लापर्बाही देखिएको पाइएको बताउनुभयो ।
घटनाको सुक्ष्म अनुसन्धान गरी दोषीमाथि कानुनअनुसार आवश्यक कारबाही र मृतक परिवारलाई उचित क्षतिपूर्तिको माग प्रतिवेदनमा गरिएको उहाँको भनाइ छ ।
नेपालगञ्ज कारागारमा रहेका हरिजनलाई रिहा हुने दुई महिनाअघि आफन्त रहेको र निवेदनको आधारमा पायक पर्ने ठाउँमा रोल्पा कारागार स्थानान्तरण गरिएको घटनाप्रति पनि अधिकारकर्मीहरूले आशङ्का व्यक्त गरेका छन् ।
जेठ ४ गते हरिजनको शव झुण्डिएको अवस्थामा रोल्पा कारागारमा फेला परेपछि हरिजनले सुर्खेत बराहतालका विजयवक्रम शाहको नाममा कैद भुक्तानी गरिरहेको पुष्टि भएको हो ।
शाह हातहतियार तथा खरखजाना मुद्दामा पाँच वर्ष कैद र ५० हजार रुपैयाँ जरिबाना तोकिएका व्यक्ति हुन् भने हरिजन चोरी मुद्दामा पक्राउ परेका व्यक्ति हुन् ।
अनुसन्धानका क्रममा हरिजनको नाममा शाह छुटेको तर हरिजनले भने शाहको नाममा कैद भुक्तानी गरिरहेको पाइएको अधिकारकर्मीहरूले जनाएका छन् । उज्यालोबाट





