
नेपालगञ्ज । सरकारले विवाह गर्ने उमेर संशोधन गर्ने भएको छ ।
कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द कोइराला (बन्दी) ले बुधबारको संसद बैठकमा विवाह गर्ने उमेर संशोधन प्रक्रिया अघि बढेको जानकारी दिनुभयो ।
मन्त्री कोइरालाले बुधबार संसद्मा उठेका प्रश्नको जवाफ दिँदै २० वर्ष पुगेर मात्रै विवाह गर्ने कानुन अव्यवहारिक भएकाले संशोधन गर्न लागिएको बताउनुभयो ।
‘१६ वर्षमा नागरिकता पाइन्छ । १८ वर्षमा मतदान गर्न पाइन्छ । बिहे गर्न २० वर्ष पुग्नुपर्छ यो व्यावहारिक भएन’, मन्त्री कोइरालाले भन्नुभयो, ‘विहे गर्न २० वर्ष कुर्नुपर्ने अवस्था कुनै पनि स्ट्याण्डर्डले देखाउँदैन ।
बरू यसले अपराध बनाउने काम भइरहेको छ । त्यसैले यसमा पुनरावलोकन गर्नुपर्ने हुन्छ । मन्त्रालयले यसलाई पुनरावलोकन गर्ने प्रक्रिया अगाडि बढाइसकेको छ।’
मन्त्री कोइरालाले विवाह गर्ने उमेर बढी राख्दा बालविवाहका नाममा आपराधिक घटना बढ्दै गएको जिकिर गर्नुभयो ।
उहाँले विवाह गर्ने उमेर कति वर्ष कायम गर्ने भन्ने विषयमा केही बताउनुभएन । मुलुकी ऐनलाई विस्थापित गरी बनेको देवानी संहिता अनुसार २० वर्ष पुगेका केटाकेटी बिहे गर्न योग्य मानिन्छन् ।





