
नेपालगञ्ज । सानो सहयोगमार्फत केही परिवर्तन ल्याउन सकिन्छ भन्ने कुराको उदाहरण नेपालगञ्जका केही युवाहरु बनेका छन् । सानो सहयोग पाएपछि उनीहरु आफ्नै खुट्टामा उभिएर अघि बढ्न थालेका हुन ।
केही समयअघिसम्म त्यसै घरमा बसिरहेका, अरुको व्यवसायमा मजदुरी गरिरहेकालाई सहयोग मिलेपछि उनीहरु आफ्नै खुट्टामा उभिने प्रयासमा अघि बढेको देखिएको छ ।
त्यस्ता केही उदाहरणीय युवाहरुका रुपमा नेपालगञ्ज १२ की खुशी चिडिमार, वडा नं २ की निर्मला मल्ल, वडा नं ८ की ऋष्टि साहू र माया गुप्ता देखिएका हुन् । यिनीहरुलाई सामाजिक बिकास मंच (एस डि एफ) बाँकेले लघुउद्यम तालिम, व्यवसाय संचालन सहयोग र केहीको घरमा शौचालयको मर्मत स्वरुप सहयोग प्रदान गरेको थियो ।
मंचले उनीहरुलाई उद्यमका लागि सहयोग प्रदान गरेको हो । जुन सहयोगबाट यिनीहरु व्यवसायतर्फ लम्किएको देखिएको छ । नेपालगञ्जमा संचालित पावर फो एवाई परियोजना अन्तर्गत बुधबार भएको अनुगमनले पाएको सहयोग रकमबाट उनीहरु आफुलाई व्यवसायप्रति इमान्दार बनेको देखिएको हो ।
सरोकारवालाको अनुगमनले मंचले प्रदान गरेको सहयोग उपलब्धिमुलक रहेको देखिन्छ । खुशीले सहयोग रकमबाट किराना पसल संचालन गरेकी छन् । बेलासपुरमा संचालनमा रहेको किराना पसल आर्थिक कारोबार राम्रै रहेको देखिएको छ ।
नेपालगञ्ज ८ की साहू र गुप्ताले सिलाई कटाई तथा कस्मेटिक व्यवसाय थालेको देखिएको छ । रंगशाला रोडमा रहेको पसलमा दुबै जनाले राम्रो गरेको अनुगमनले देखाएको छ ।
यस्तै नेपालगञ्ज ६ फुल्टेक्रारोडमा दुई युवाले लान्ड्री व्यवसाय शुरु गरेका छन् । पहिला अरुकै व्यवसायमा संलग्न दुई युवा मिलेर यो व्यवसाय शुरु गरेको र शुरुवाती चरणमा राम्रै अवस्थामा रहेको र मल्लले पनि किराना पसल संचालन गरेको अनुगमनले देखाएको छ । मल्लले संचालन गरेको पसलबाट छोराको बिद्यालय फिस तिरिरहेको देखिएको छ ।
यस्तै आर्थिक अवस्थाबाट कमजोर नेपालगञ्ज १२ का निखिल चिडिमारले बिद्यालयलाई नियमित बनाएका छन् । सहयोग रकमबाट उनले बिद्यालयका आवश्यक बस्तुमा खर्च गरेको र केही रकम जोगाएर राखेका छन् ।
मंचले बिपन्न तथा अपाङ्गता भएको घरमा शौचालय मर्मत एवं निर्माण समेत गरेको छ । जुन कुरा पनि सरोकारवालाहरुले अनुगमन गरेका छन् ।
अनुगमनमा सहभागि जिल्ला समन्वय समिति बाँकेका संयोजक ज्ञानेन्द्र चौधरीले वास्तविक रुपमा सहयोगको आवश्यकता भएकोले पाएको बताउनुभयो । ‘संस्थाले जस जसलाई सहयोग दिएको छ, हेर्दा आवश्यकता महसुस भयो,’ संयोजक चौधरीले भन्नुभयो, ‘आगामी दिनमा पनि सहयोग निरन्तर हुनुपर्छ र समन्वय समितिसंग समेत समन्वय गर्नुस ।’
अनुगमनले १८ देखि २४ वर्ष उमेरका युवालाई लक्षित गरेर मंचले तालिमहरु प्रदान गर्ने गरेको तर त्यसमा सबै युवालाई उमेरका युवालाई समेटन समस्या भएको कुराहरु, उद्यम वा व्यवसाय दर्ता प्रक्रियामा जानुपर्ने र उनीहरुका बाल बच्चालाई वडा कार्यालयसंग समन्वय गरी उनीहरुको अध्ययन कार्यलाई सहज बनाउन बिद्यालयहरुमा फिसहरु छुट गराउन सकिने कुरामा वडा अध्यक्ष लगायतले सुझाव दिनुभएको थियो ।
अनुगमनमा जिल्ला समन्वय समिति बाँकेका उपसंयोजक सिता कार्की, नेपालगञ्ज वडा नं २ का वडा अध्यक्ष मनोज कुमार श्रेष्ठ, वडा नं ८ का वडा अध्यक्ष रजनीश बाजपाई, वडा नं १२ का वडा अध्यक्ष तरुण कुमार बज्राचार्य, वडा नं २१ का वडा सदस्य मेराज अहमद वागवान, गैर सरकारी संस्था महासंघ बाँकेका सचिव आशिष बर्मा, जिल्ला युवा क्लब संजाल बाँकेका राजन बर्मा, नगरस्तरीय अपाङ्ग संजालका गोकर्ण आचार्य, मंचका अध्यक्ष चम्प सिंह थापामागर, वरिष्ठ सल्लाहकार घनश्याम उपाध्याय, परियोजना संयोजक राम श्रेष्ठ, सेफ द चिल्ड्रेनकी परियोजना संयोजक फुल कुमारी चौधरी, मंचलका सिनियर अफिसर बृजेश ठाकुर, सुपरभाईजर पुजा बर्मा लगायतको सहभागिता रहेको थियो ।
मंचले नेपालगञ्ज उपमहानगरपालिकाको समन्वयमा संचालन गरेको परियोजनामार्फत बिपन्न छात्र छात्रालाई छात्रबृति, बिपन्न युवाहरुलाई लघुउद्यम बिकास तालिम, आवश्यक सहयोग प्रदान गर्ने कार्यहरु गर्दै आएको छ ।





