
नेपालगन्ज । सरकारले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ । आइतबार राति १२ बजेबाट लागू हुने गरी सरकारले पेट्रोल लिटरमा २१ रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा २७ रूपैयाँ बढाएको हो ।
नेपाल आयल निगमद्वारा जारी विज्ञप्ति अनुसार नयाँ मूल्यसँगै अब काठमाडौं उपत्यकामा पेट्रोल १९९ रूपैयाँ, डिजेल र मट्टीतेल १९२ रूपैयाँ लिटर पर्नेछ ।
एलपी ग्यासको भने मूल्य यथावत, एक हजार ८ सय रूपैयाँ नै छ ।
हवाइ इन्धन (आन्तरिक र बाह्य) को मूल्य पनि सरकारले बढाएको छ। हवाइ इन्धन आन्तरिकमा लिटरको १९ रूपैयाँ र बाह्यमा प्रतिकिलो लिटर १०० अमेरिकी डलर बढाइएको निगमले जनाएको छ ।
यसअघि जेठ २६ गते मात्र निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको थियो ।
निगमले भारतीय आयल कर्पोरेसन (आइओसी) पछिल्लोपटक पठाएको मूल्य सूचीअनुसार समायोजन गरेर भाउ बढाइएको बताएको छ ।
आइओसीले असार २ गते पठाएको सूचीअनुसार पेट्रोलमा प्रतिलिटर ६.५२ रूपैयाँ र डिजेल १९.०३ रूपैयाँ बढेको छ । योसँगै आफ्नो खरिद लागत पेट्रोलमा प्रतिलिटर २१२.५८ रूपैयाँ र डिजेलको २०५.९५ रूपैयाँ पुगेको निगमले जनाएको छ। हवाइ इन्धनमा पनि आइओसीले लिटरको १९.९१ रूपैयाँ बढाएर पठाएको छ ।
निगमका अनुसार प्रतिसिलिन्डर एक हजार ८ सयमा बिक्री भइरहेको खाना पकाउने एलपी ग्यासमा पनि उसलाई ७५१.१४ रूपैयाँ घाटा छ । ग्यासको खरिद लागत २५५१.१५ रूपैयाँ छ ।
यो मूल्यअनुसार समायोजन नगरी बेच्दा १५ दिनमा चार अर्ब ८१ करोड घाटा भएको भन्दै आइतबार मध्यरातमा निगमले भाउ बढाएको हो । 





