
प्रहलाद विश्वकर्मा, नेपालगज । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयको आयोजनामा पारिवारिक सम्पर्क पुनःस्थापना सेवा कार्यक्रमको समिक्षा तथा कार्ययोजना निर्माण कार्यशाला नेपालगंजमा विहीवार सम्पन्न भएको छ ।
नेरेसो बाँके शाखाको व्यवस्थापनमा २ दिनसम्म संचालन भएको उक्त कार्यशालामा आन्तरिक द्वन्द्वको समयमा वेपता भएका व्यक्तिहरुको खोजी कार्य थप प्रभावकारी बनाउन योजना निर्माण र जिल्ला स्तरमा सम्पन्न भए गरेका गतिविधिहरुको बारेमा समिक्षा गरिएको थियो ।
कार्यक्रममा कर्णाली, सुदुरपश्चिम र लुम्निबी प्रदेशका आर.एफ.एल. स्वयंसेवकहरुको सहभागिता रहेको थियो ।
रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आइ.सी.आर.सी.) र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा ७७ जिल्लामा पारिवारिक सम्र्पक पुनःस्थापना सेवा कार्यक्रम संचालन भइ रहेको छ ।
द्वन्द्वबाट ७१ जिल्लामा १३३४ जना वेपताको तथ्यांक आइ.सी.आर.सी. र नेरेसोको अभिलेखमा रहेको कुरा गोष्ठीमा जानकारी गराइएको थियो ।
रेडक्रसको विश्व सञ्जाल मार्फत द्वन्द्व, विपद्, र वैदेशिक रोजगारीका क्रममा वेपता भएका एवं विविध कारणले जेलमा परेका व्यक्तिहरुको खोजी गरी पारिवारिक मिलन गराउदै आएको कुरा नेरेसो विपद् तथा संकटव्यवस्थापन विभाग ट्रेसिङ्ग सेवाका फोकल पर्सन शालिकग्राम तिवारीले बताउनु भयो ।
नेरेसो बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष राकेशबहादुुर श्रीवास्तव, उपनिर्देशक दोलखबहादुर डाँगी लगायतले विचार व्यक्त गर्नु भएको थियो भने कार्यशालाको सहजीकरण आई.सी.आर.सी.का प्रतिनिधि मीरा राणा र नेरेसो केन्द्रीय कार्यालयका शालिकग्राम तिवारीले गर्नु भएको थियो ।





