श्रीलंकामा प्रधानमन्त्री विक्रमासिङ्घेको निवासमा आगजनी

एजेन्सी । श्रीलंकामा प्रदर्शनकारीले प्रधानमन्त्री रनिल विक्रमासिङ्घेको निजी निवासमा तोडफोड गर्दै आगजनी गरेका छन् ।

शनिबार साँझ प्रदर्शनकारीहरू प्रधानमन्त्रीको निजी निवास छिरेका थिए। त्यहाँ रहेका सुरक्षाकर्मी र प्रदर्शनकारीबीच तनावपूर्ण स्थिति श्रृजना भएको थियो।

प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास र पानीको फोहोरा प्रहार गरिएको थियो। यसै क्रममा प्रधानमन्त्रीको सुरक्षामा तैनाथ अधिकारीले घरबाहिर उपस्थित पत्रकारमाथि हमला गरेपछि भीड झनै आक्रोशित भयो । त्यसपछि भीडले प्रधानमन्त्रीको निजी घरमा आगजनी गरेको थियो ।

श्रीलंकामा आर्थिक संकट चुलिएपछि प्रदर्शनकारीहरूले सरकारविरुद्ध प्रदर्शन गरिरहेका छन् । उनीहरूले शनिबार राष्ट्रपति निवास घेरेका थिए ।

दिउँसो प्रदर्शनकारी निवासमै छिरेपछि राष्ट्रपति गोटाबाया राजपक्षे सुरक्षित स्थानमा भागेको एजेन्सीहरुले उल्लेख गरेका छन् ।

यसैबीच प्रधानमन्त्री रनिल विक्रमासिंघेले पनि राजीनामा दिने भएका छन् । उनले बोलाएको सर्वदलीय बैठकपछि ट्विट गर्दै राजीनामा दिने बताएका हुन् ।

उनले भनेका छन्, ‘सबै नागरिकको सुरक्षासहित सरकारको निरन्तरताको सुनिश्चित गर्न पार्टीका नेताहरूले दिएको सर्वदलीय सरकार बनाउन दिएको सुझावलाई म स्वीकार्छु । त्यसको लागि म प्रधानमन्त्री पदबाट राजीनामा दिन्छु ।’

प्रदर्शनकारीहरूले गत मार्चयता राजापाक्षेको राजीनामा माग गर्दै आएका छन् । श्रीलंकामा आर्थिक संकट आएदेखि उनको राजीनामा माग्न थालिएको हो ।

आर्थिक संकटका कारण पेट्रोलियम पदार्थ समेत आयात गर्न छाडेको छ। विद्यालयहरू पनि बन्द छन् ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments