
बाँके । नेपाल निजामती कर्मचारी संगठन, बाँकेका सचिव देवीलाल चौलागाई करिब एक हप्तादेखि “सेल्फ आइशोलेसन”मा बसिरहनुभएको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, नेपालगन्जका सूचना अधिकारी समेत रहुनभएका चौलागाई सोहि कार्यालयमा कार्यरत तीन जना कर्मचारीहरुमा साउन २३ गते कोरोना संक्रमण पुष्टि भए लगत्तै “सेल्फ (होम) आइशोलेसन”मा बसेको उहाँले बिहीबार सार्वजनिक गर्नुभएको हो ।
एउटै कार्यालयका सहकर्मीहरुमा संक्रमण पुष्टि भएपछि संक्रमणको उच्च जोखिम रहेको हुँदा परिवार, सहकर्मी, साथीभाई, आफन्त र अन्य कसैलाई पनि त्यो जोखिम नरहोस् भनेर तत्कालै आफु घरैमा “सेल्फ आइसोलेसन”मा बसेको उहाँले बताउनुभयो ।
आफूसंगै काम गर्ने कर्मचारीहरुमा संक्रमण पुष्टि भएको खबर पाउने बित्तिकै आफु बाहिर कतै, कसैको सम्पर्कमा नगई, परिवार समेतबाट अलगै रही घरको एउटा कोठामा आइशोलेट भएको उहाँले बताउनुभयो ।
कार्यालयका सहकर्मिहरुमा कोरोना संक्रमण पुष्टि हुँदा समेत क्लोज कन्ट्याक्टमा रहेका अन्य कर्मचारी र परिवारलाई “कन्ट्याक्ट ट्रेसिङ” का आधारमा PCR test गर्न अहिलेसम्म पनि कसैले सम्पर्क एवं खोज खबर नगरेको प्रति उहाँले आश्चर्य प्रकट गर्दै “कन्ट्याक्ट ट्रेसिङ” को प्रभावकारितामाथि नै प्रश्न उठाउनुभएको छ ।
उहाँ कार्यरत कार्यालयका तीन जना कर्मचारीहरुमा २३ गते राती संक्रमण पुष्टि भएको खबर आएपछि भोलिपल्ट अर्थात २४ गते “कन्ट्याक्ट ट्रेसिङ” का आधारमा आफुहरुलाई पनि PCR test को लागि सम्बन्धित निकायबाट बोलावट हुने प्रतीक्षा गरी बसेको तर कतैबाट पनि खबर नआएपछि त्यसको भोलिपल्ट अर्थात २५ गते जानकी गाउँपालिकाको मानपुरस्थित एक विद्यालयमा नमुना संकलन हुँदैछ भन्ने जानकारीको आधारमा व्यक्तिगत पहल एवं अग्रसरता र गाउँपालिकाका कर्मचारी साथीहरुको सहयोगमा कोरोना परिक्षणका लागि उहाँले स्वाब दिएको र अहिले नतिजाको प्रतीक्षा गरेर बस्नुभएको छ ।
बिहिबार छैटौं दिनसम्म समेत कतैबाट सम्पर्क नभएको बताउँदै यस्तो प्रभावहिन कन्ट्याक्ट ट्रेसिङबाट समग्र जिल्लाको कोरोना नियन्त्रणमा थप जटिलता पैदा गर्ने भन्दै चौलागाईले कन्ट्याक्ट ट्रेसिङमा लापरवाही नगर्न र तत्काल रेस्पोन्स गर्न स्वास्थ्य कार्यालयसहित जिम्मेवार निकायहरुले ध्यान दिन आग्रह गर्नुभएको छ ।






