
मानपुर । जानकी गाउँपालिकाले प्रदान गर्ने सेवा र सुविधाको प्रभावकारिता बिषयक सार्वजनिक सुनुवाई कार्यक्रम शनिबार दिन बाँकेको मानपुरमा सम्पन्न भएको छ ।
जानकी गाउँपालिकाको आयोजना र बास नेपालले सहजीकरण गरेको सार्वजनिक सुनुवाईमा गाउँपालिका प्रमुख छब्बन खाँले गाउँपालिकाले प्रवाह गरेको सेवा सुविधा र भावी योजनाहरुबारे जानकारी गराउनुभएको थियो ।
प्रमुख खाँले जानकी गाउँपालिकालाई विकसित पालिकाको रुपमा स्थापित गरेर पालिकाको समग्र विकासका लागि आर्थिक बर्षको योजनामा केन्द्रित रहेर नाला, ढल निकास, सडक, शिक्षा, स्वास्थ्य, कृषि र भेटनरी लगायतका क्षेत्रमा सुधार गर्ने योजना बनाइएको बताउनुभयो ।
उहाँले आर्थिक अवस्था कमजोर भएका गाउँबासीहरूका लागि सीपमुलक तथा आयआर्जन मुलक कार्यक्रम समेत ल्याइने बताउनुभयो । कार्यक्रममा गाउँबासीहरूले जानकी गाउँपालिकाले प्रवाह गर्ने सेवा सुबिधाहरुलाई पारदर्शी र जवाफदेही बनाउन आग्रह गरेका थिए ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष रामप्यारी यादव, प्रमुख प्रशासकीय अधिकृत बस बहादुर राना, जिल्ला समुन्वय समितिका सदस्री जुल्फिर मनिहार, लेखा अधिकृत मतीन अहमद अन्सारी लगायतको उपस्थिति रहेको थियो ।





