५ केजी चाँदी र दुई तोला सुन प्रयोगसहितको ट्रफी सार्वजनिक

नेपालगञ्ज । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी सार्वजनिक गरीएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी सार्वजनिक गर्नुभएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान औपचारिक कार्यक्रमको आयोजना गरेर ट्रफी सार्वजनिक गरिएको हो । ट्रफी सार्वजनिक कार्यक्रममा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक), पर्यटनमन्त्री तथा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जिवनराम श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ लगाएतको सहभागीता रहेको थियो ।

सरकारले पहिलो पटक राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि रनिङ ट्रफीको निर्माण गरेको हो । करिब १० लाख रुपैयाँ खर्च गरेर राष्ट्रिय खेलकुदको विजेता टिमका लागि ट्रफी बनाईएको हो । ट्रफिका डिजाइनर नेपाल ओलम्पिक कमिटीका महासचिव समेत रहेका निलेन्द्रराज श्रेष्ठ हुनुहुन्छ ।

यस्तै ट्रफिलाई श्याम तुलाधारले बनाउनुभएको हो । ट्रफिमा ५ केजी चाँदी र दुई तोला सुनको प्रयोग गरिएको छ । लगातार तीन संस्करणको प्रतियोगिता जित्ने टिमले स्थायी रुपमा विजेता ट्रफी आफुसँग राख्न पाउनेछ । अब नवौंको रनिङ ट्रफीलाई प्रदर्शनीका लागि सातै प्रदेश र तीन विभागिय टोलीमा पुर्याइनेछ ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) ले ओलम्पियन एवं दक्षिण एशियाली खेलकुदका कीर्तिमानधारी दीपक विष्टको संयोजकत्वमा ५ सदस्सीय ट्रफी टुर कार्यदल गठन गरेको छ । कार्यदलमा क्रिकेटका पूर्व कप्तान पारस खड्का, राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष एवं साग पदकधारी दीपक श्रेष्ठ, महिला भलिबल कप्तान अरुणा शाही र अल्ट्रा म्याराथन धाविका मिरा राई सदस्य रहनुभएको छ ।

असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशका विभिन्न जिल्लामा आयोजना हुने प्रतियोगितामा सात प्रदेश, तीन विभाग र एक एनआरएनए गरि ११ टिमले सहभागीता जनाउने छन् ।

Previous articleटिकापुर घटना सम्बन्धी मुद्दा खारेज गर्ने सरकारको निर्णय
Next articleपहिरोले घर पुरिंदा अछाममा २ जनाको मृत्यु, ७ जना बेपत्ता

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here