राहत माग्न गाउँपालिका पुग्न थाले किसान

नरैनापुर । आकाशको पानीको भरमा खेती किसानी गर्दै आएका बाँकेको नरैनापुर गाउँपालिकामा भोकमरी शुरु भएको छ ।

सर्बसाधारण नागरिकहरु राहत माग्न गाउँपालिका पुग्न थालेका छन् । सुख्खा खडेरीका कारण खेती गर्न नपाएको र घरमा राखिएको सबै खाद्यान्न सकिएपछि राहत माग्नुपर्ने बाध्यता आएको पीडितले बताए ।

नरैनापुर ६ गंगापुर निवासी कृष्णावती मौर्यले सुख्खा खडेरीका कारण खेती गर्न नपाउँदा जम्मा गरेर भएको खाद्यान्न सकिएको बताउनुभयो । ‘घरमा भएको अनाज सबै सकियो, खेतबारीमा बालीबोट छैन,’ उहाँले भन्नुभयो, ‘भोकमरीले छट्पटी शुुरु भएपछि गाउँपालिका आएकी हुँ ।’

वडा नम्बर ४ की रिता कलवारको समस्या पनि उस्तै छ । उनीसँग रहेको करिव ६ कठ्ठा जमिन यसवर्ष बाँझै छ । खेतबारी बाँझै छ । घरमा राखिएको अनाज पानी रित्तिसक्यो । भोकमरी शुरुभएपछि गाउँपालिका पुग्नुको विकल्प नभएको उहाँले सुनाउनुभयो । ‘भोकभरीले सताउन थालेपछि गाउँपालिका आएकी हुँ,’ रिताले भन्नुभयो ।

नरैनापुरमा यसवर्ष कुल खेतीयोग्य जमिनको करिव १५ प्रतिशतमा मात्र खेती भएको तथ्यांक छ । सुख्खा खडेरीका कारण खेती गर्न नपाउँदा अधिकांस किसानको खेतबारी बाँझै रहेका छन् ।

गाउँपालिकाले नरैनापुरलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गर्दै प्रदेश र संघीय सरकारसँग तत्काल राहत प्याकेज उपलब्ध गराउन र प्रत्येक वडामा ३/३ वटाका दरले डिप बोरिङको ब्यवस्था गर्न माग गरेको थियो ।

गाउँपालिका अध्यक्ष शाहले यसअघि अर्थमन्त्री जनार्दन शर्मालाई नरैनापुरमै लगेर स्थलगत निरीक्षण गराउनुभएको थियो । यसका साथै युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक), प्रदेश सांसद कृष्णा केसी (नमुना) लगायतले पनि स्थलगत निरीक्षण गर्नुभएको थियो ।

अध्यक्ष शाहले खेती गर्न नपाएका अधिकांस किसानको घरमा भोकमरी शुरु भइसकेको बताउनुभयो । ‘भोकमरीबाट पीडित किसानहरु अहिले ठुलो संख्यामा गाउँपालिका आउने गरेका छन्, मेरो घरमा पुगेर पनि उनीहरुले आफ्नो दुःख सुनाउँछन्,’ शाहले भन्नुभयोे ‘संघीय सरकारले अहिलेसम्म कुनै राहत घोषणा नगर्नु दुःखद हो ।’

संघीय सरकारका अर्थमन्त्री जनार्दन शर्मा र युवा तथा खेलकुद मन्त्री महेश्वर (गहतराज) स्वयंले स्थलगत निरीक्षण गरिसकेकाले सरकारबाट राहत कार्यक्रम घोषणा हुनेमा आशा रहेको अध्यक्ष शाहले बताउनुभयो ।

Previous articleगायक राजकुमार दोङ तामाङको ‘हे मेरी आमा’ सार्वजनिक
Next article६ सय ८१ कैदीलाई आममाफी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here