
नेपालगञ्ज । चलचित्रमा जहिले पनि हिरो हिरोईन र उसका पात्रहरु नै प्रत्यक्ष रुपमा चर्चामा आउने गर्छन । किनकी उनीहरु नै प्रत्यक्ष रुपमा दर्शकका अगाडी देखिन्छन् र पात्रहरुले गरेको भूमिका अनुसार दर्शकको मनमा बस्छन् ।
कलाकारले निभाउने भूमिका अनुसार नै दर्शकले कलाकारलाई चिन्ने गरेका हुन्छन् । दर्शकले जति कलाकारलाई चिन्छन् त्यति कलाकारको भुमिकालाई तयार गर्नेलाई कमैले चिन्ने गर्छन् ।
किनकी चलचित्रको खम्बा भनौ वा चलचित्रलाई कस्तो बनाउने कसरी दर्शकको मन जित्ने अवस्था तयार लगायतका सबै कुराको निर्धारण निर्देशकले गरेको हुन्छ ।
हो चलचित्रको निर्देशकजस्तै पर्दा पछाडीको हिरो रहेका अर्थात जसपाका नेता शम्सुल हक राई पर्दा अगाडीको पाईला बढाउन शुरु गर्नुभएको छ । स्थापनाकालमा मधेशी फोरमदेखि जनता समाजबादी पार्टीको समयसम्म पर्दा पछाडीको हिरो रहनुभएका राईले पर्दा अगाडीको पाईलालाई अगाडी सार्नुभएको छ ।
पार्टीभित्र नेता तयार गर्नेदेखि जनताको मन जित्न आवश्यक पर्ने सम्पूर्ण सल्ला र निर्देशन दिने राई अब आफैले आफैलाई निर्देशन दिँदै अगाडी बढ्न थाल्नुभएको हो । पार्टीभित्रको अद्रिश्य हिरो अब मंसिर ४ को निर्वाचनमा वास्तविक हिरो बन्न पर्दा अगाडी आउने तयारी गर्नुभएको छ ।
बाँके निर्वाचन क्षेत्र न २ संघीय सांसदका लागि जनता समाजबादी (जसपा) लुम्बिनी प्रदेशले भौतिक योजना तथा यातायात मन्त्री ईस्तियाक राई र उहाँका निवर्तमान स्वकीय सचिव शम्सुल हक राईको नाम केन्द्रमा सिफारिस गरेको छ ।
मन्त्रीजीसंगै आफ्नो नाम संघीय सांसदका लागि नाम सिफारीस गरिएको जसपा लुम्बिनी प्रदेशका अध्यक्ष अशोक यादवलाई उद्धृत गर्दै सम्शुल हक राईले जानकारी दिनुभयो ।
शम्सुल २०६३ को मधेश आन्दोलनदेखि मधेसी जनअधिकार फोरमबाट राजनीति शुरु गर्नुभएको हो । ईस्तियाक राईलाई सांसददेखि मन्त्रीसम्म बनाउन उहाँको ठूलो हात रहेको छ । उहाँ मन्त्री हुँदा शम्सुल पटक पटक स्वकीय सचिवका रुपमा काम गर्दै आउनुभएको थियो ।
जसपा लुम्बिनी प्रदेशका सदस्यसमेत रहनुभएका शम्सुलले राजनीति कसैको पेवा नभएको बताउनुभयो । उहाँले एक जना नेता सधै सांसद र मन्त्री भइरहने परम्परा तोड्न बाँके निर्वाचन क्षेत्र नं २ बाट संघीय सांसदको दाबी गरिएको जनाउनुभयो ।
उहाँले कैन्द्रीय नेताहरुको सम्पर्कमा रहेको र आफ्नो नाममा सर्वसम्मतले संघीय सांसदको उम्मेदवारीको रुपमा पास गर्ने बिश्वास रहेको बताउनुभयो ।
निर्वाचन मिति नजिकिदै गर्दा मन्त्री ईस्तियाक र निवर्तमान स्वकीय सचिव शम्सुलबीचको सम्बन्धमा तिक्तत्ता आएको जसपाका नेताहरु बताउँछन् ।
त्यसको असर निर्वाचनमा पनि पर्न सक्ने अडकलबाजी हुन थालेको छ । निवर्तमान सचिव शम्सुलले पछिल्लो समय मन्त्रीको सम्पर्कमा नरहेको स्वीकार गर्नुभयो ।
मन्त्री भएपछि उहाँले मलाई सम्पर्क गर्नु भएको छैन । मैले पनि गरेको छैन । नेपालगञ्ज आउँदा पनि उहाँसंग भेटघाट भएको छैन, उउहाँले भन्नुभयो, म पनि निर्वाचनकै तयारीमा लागेको छु ।





