
नेपालगञ्ज । बाँके प्रहरीले लैंङ्गिक हिंसा पिडित २० जना महिलालाई सम्मान गरेको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बाँके प्रहरीले पिडित महिलाहरुको आत्मबल बढाउन सम्मान गरेको जनाएको हो ।
प्रहरीको केन्द्रीय निर्देशन अनुसार जिल्लाका हिंसामा परेका महिलाहरुको आत्मबल बढाउन, हिंसापिडित महिलाहरुलाई सम्मानित वातावरण निर्माण गर्न सम्मान गरिएको बाँकेका प्रहरी प्रमुख श्याम कृष्ण अधिकारीले जानकारी दिनुभयो ।
वडा प्रहरी कार्यालयबाट निस्किएको सचेतनामूलक र्याली राप्तीरोड, त्रिवेणीमोड हुँदै त्रिभुवन चोकमा कोणसभामा परिणत भएको थियो । सभामा बोल्दै बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले हिंसापिडितलाई न्याय न्याय दिनुपर्ने राज्यको दायित्व भएको बताउनुभयो ।
राज्यका हरेक पिडित व्यक्तिले न्याय दिलाउन राज्य सदैव सक्रिय रहने भन्दै उहाँले कानूनले वर्जित गरेका कार्य कदापी स्वीकार्य नहुने धारणा राख्नुभयो । हिंसापिडित महिलाहरुमध्ये समुदायमा पुर्नस्थापित भएका महिलाहरुलाई समुदायमा सकारात्मक वातावरण निर्माण गर्न सम्मान प्रदान गरिएको वडा प्रहरी कार्यालयले जनाएको छ ।
कोणसभामार्फत पिडित महिलाहरुलाई दोसल्ला तथा साडी प्रदान गरेर सम्मानित गरिएको थियो । सभामा नेपालगञ्ज वडा नं ४ का वडा अध्यक्ष गोपाल पुन, वडा नं ८ का वडाअध्यक्ष रजनीश बाजपई, माइती नेपाल नेपालगञ्जका संयोजक केशव कोइराला, नेपाल पत्रकार महासंघ बाँके उपाध्यक्ष करुणा शाह, शक्ति समूहकी कार्यक्रम संयोजक निर्मला पौडेल, अन्तरपार्टी महिला संजाल बाँकेकी पुर्व अध्यक्ष रेखा गुप्ता लगायतको उपस्थिति रहेको थियो ।





