
धनगढी । कन्चनपुरमा माछा मार्न गएका बेला डुबेर दुई बालिकाको मृत्यु भएको छ भने एकको सकुशल उद्धार गरिएको छ।
लालझाडी गाउँपालिका–२ स्थित दोदा नदीमा माछा मार्न गएका बेला बगेका सोही ठाउँका १५ वर्षीया मोनिका राना र १४ वर्षीया निष्ठा रानाको डुबेर मृत्यु भएको हो ।
आइतबार दिउँसो ३ बजेतिर उनीहरूलाई नदीले बगाएको थियो । सँगै बगेकी १२ वर्षकी अन्नु रानालाई तत्काल स्थानीयले देखेपछि सकुशल उद्धार गरेका थिए ।
इलाका प्रहरी कार्यालय बेलौरीबाट गएको प्रहरी टोली र स्थानीयले खोजतलास गर्दा मोनिका र निष्ठा रानाको शव बगेको स्थानदेखि ३०० मिटर टाढा फेला पारेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताउनुभयाे ।
उद्धार गरिएकी बालिका अन्नु रानालाई स्वास्थ्यजाँचका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको उहाँले बताउनुभयाे । ती बालिकाको अवस्था सामान्य छ।
दुबै मृतकको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र बेलौरीमा राखिएको छ ।





