आज नवरात्रिको अन्तिम दिन, देवी दुर्गाको नवौं शक्तिको पूजा

नेपालगञ्ज । आज बडादसैंको नवौं तथा अन्तिम दिन दुर्गा भवानीको पूजा आराधना गरी महानवमी पर्व मनाइन्छ ।

घटस्थापनाका दिन आ(आफ्नो घरमा विधिपूर्वक राखिएको जमरा महानवमीका दिन विभिन्न शक्तिपीठमा चढाइन्छ ।

महानवमीका अवसरमा आज दसैंघर र कोतलगायत विभिन्न देवीका मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा, भेडा र राँगाको बलिसहित विशेष पूजाअर्चना र दुर्गा सप्तशती पाठ गरिन्छ ।

शाकाहारीहरूले भने कुभिन्डो, घिरौंला र मूला लगायतको बलि दिने र नरिवल चढाउँछन् ।

पुराणअनुसार महानवमीका दिन चामुण्डादेवीले रक्तबीज असुरको संहार गरेकाले यो पर्वलाई विशेष महत्वका साथ लिइन्छ । आज कोतहरूमा हर्षबढाइँका साथ कोतपूजा र निशान पूजा पनि गरिन्छ ।

महानवमीका अवसरमा बिहान हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक तथा गुल्महरूमा बाजागाजासहित बलि दिएर जंगी निशानपूजा तथा कोतपूजा गर्ने चलन छ।

हनुमानढोकास्थित ऐतिहासिक तलेजु भवानीको मन्दिर सर्वसाधारणको दर्शनका लागि वर्षमा एक पटक महानवमीको दिन मात्र खोलिन्छ ।

हनुमानढोकाको दसैंघर लगायत कतिपय समुदायले महाअष्टमीको मध्यरातमा शक्तिस्वरूपा दुर्गा भवानीको पूजाअर्चनाका साथ आ(आफ्नो परम्पराअनुसार राँगा र बोकाको बलि दिई कालरात्री मनाउँछन् ।

नवौं दिन दुर्गा माताको नवौं शक्ति स्वरूपा माता सिद्धिदात्रीको विशेष पूजा अनुष्ठान गरी मनाइन्छ । नवमीमा धनधान्यकी देवी माता महालक्ष्मी देवीको पनि पूजा अर्चना गरिन्छ।

नवदुर्गा गणकी एउटी देवीको नाम सिद्धिदात्री पनि हो । सम्पूर्ण मुमुक्षुलाई मोक्ष प्रदान गर्ने हुनाले देवीलाई सिद्धिदात्री भनिएको श्रीमद्देवीभागवत लगायत ग्रन्थमा उल्लेख छ ।

सिद्ध, गन्धर्व, यक्ष, सुर र असुरहरूद्वारा सेवित भएकाले यिनलाई सिद्धिदायिनी पनि भनिएको हो । यिनी नवदुर्गा गणकी नवौं देवी हुन् । देवीको नौ नाम ब्रह्माजीले मार्कण्डेय ऋषिलाई बताएको पौराणिक कथन छ । ती नाम स्मरण मात्र गर्नाले मानिस कष्ट वा संकटबाट सजिलैसँग छुट्न सक्छ भन्ने धार्मिक विश्वास छ ।

दुर्गा पक्षसमेत भनिने दसैंको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैठौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यिनै नौ दुर्गाका रूपलाई नवदुर्गा पनि भनिन्छ ।

नवरात्रिका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठ गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ ।

यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् ।

नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजया दशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले दसैं पर्व मनाउँछन् । (रासस)

Previous articleडेङ्गी संक्रमणबाट जाेगिन नगरबासीहरुलाई उपमहानगरकाे आग्रह
Next articleनेपालका ३९ प्रतिशत जनसंख्या बीमाको पहुँचमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here