काठमाण्डौं । यो वर्षको नोबेल शान्ति पुरस्कार घोषणा भएको छ । यो पुरस्कार यसपाली बेलारूसका मानव अधिकार कार्यकर्ता एलेस बिआलियात्स्कीका साथै रूस र युक्रेनका मानव अधिकार संस्थालाई संयुक्त रूपमा दिइने भएको हो ।
पुरस्कार पाउने रूसको मेमोरियल र युक्रेनको सिभिल लिबर्टिज संस्था हुन् । सम्मानको घोषणा गर्दै नोबेल पुरस्कार कमिटीले भनेको छ, “शान्ति पुरस्कारबाट सम्मानित व्यक्ति र संस्थाहरूले आ-आफ्नोमा देशमा नागरिक समाजको प्रतिनिधित्व गर्छन् । उनीहरूले नागरिकहरूको अधिकार संरक्षणका लागि वर्षौं काम गरेका छन् ।”
त्यस्तै यस वर्षको नोबेल साहित्य पुरस्कार फ्रान्सेली साहित्यकार एनी एर्नोलाई प्रदान गर्ने घोषणा गरिएको छ । नोबेल पुरस्कार दिने ‘द स्विडिस एकेडेमी’ ले एर्नोले विषयको जडसम्म पुगेर, विछोड र सामूहिक संयमका स्मरणहरूबारे लेख्ने गरेको जनाएको छ । त्यसैका लागि उहाँलाई नोबेल पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो ।
एर्नोले सामाजिक असमानता र त्यसले मानिसको जीवनलाई कसरी प्रभाव पार्छ भन्नेबारे खोतल्ने गर्नुहुन्छ । एर्नोले व्यावसायिक लेखन थाल्नुअघि एक शिक्षिकाका रूपमा काम गर्नुभएको थियो । उहाँका ‘अ म्यान्स प्लेस’ र ‘अ वुमन्स स्टोरी’ लगायत पुस्तक समकालीन फ्रान्सका उत्कृष्ट साहित्यमा गनिन्छन् ।
यस वर्ष चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार भने स्वीडेनका वैज्ञानिक स्वान्टे पाबोले पाएका छन् । ‘लोपोन्मुख होमिनिनको जिनोम र मानव विकाससँग सम्बन्धित’ खोजका लागि उहाँलाई पुरस्कार दिइएको हो ।