प्रजिअ खत्रीद्धारा बाढीग्रस्त क्षेत्रको अनुगमन, नरैनापुरका तीन हजार घर प्रभावित

नरैनापुर । अविरल वर्षाद्का कारण बाँकेको राप्ती सोनारी गाँउपालिकाको वडा नं ७ र नरैनापुर गाँउपालिकाको वडा नं ६ मा सिक्टाले बनाएको बाध भत्किन थालेपछि स्थानीयहरु त्रासित बनेका छन् ।

नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहको आग्रहमा मंगलबार प्रमुख जिल्ला अधिकरी सूर्य बहादुर खत्री, प्रहरी उपरिक्षक श्याम कृष्ण अधिकारी, नरैनापुरका प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालसहितको टोली भत्किन थालेको बाधको स्थलगत अनुगमन गरी तत्काल तटबन्ध गर्ने प्रजिअ खत्रीले प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

स्थानीयहरुसंग कुरा गर्दै प्रजिअ खत्रीले नरैनापुरको अवस्था दर्दनाक रहेकोले गृह मन्त्रालय मार्फत बाढी प्रभावितहरुको समस्या समाधानका लागि पहल गर्ने बताउनुभयो ।

गाँउपालिका अध्यक्ष शाहले राप्ती सोनारी र नरैनापुरका नागरिकले बाढी, डुबान र कटानको समस्या झेल्दै आएको जानकारी गराउँदै दीर्घकालीन समाधानका लागि पहल गर्न आग्रह गर्दै बाढी प्रभावितहरुलाई तत्काल राहात दिन अनुगमन टोलीलाई आग्रह गर्नु भएको थियो ।सिक्टाले बनाएको बाँध पूर्ण रुपमा फुटेको खण्डमा ठूलो मानवी क्षति हुन सक्ने भएकोले उक्त बाँध मर्मतका प्राविधिहरु तत्काल खटाउन अध्यक्ष शाहले सुझाव दिनुभयो । स्थलगत अनुगमनमा राप्ती सोनारी वडा नं ७ का वडाअध्यक्ष राम लखन थारुले बाँध भत्किए हजारौ मानिसको ज्यान जान सक्ने भएकोले तत्काल उचित प्रबन्ध मिलाउन आग्रह गर्नुभयो ।

निरन्तरको पानीका कारण नरैनापुरमा तीन हजार घरधुरी बाढी तथा डुबानबाट प्रत्यक्षरुपमा पीडित हुन पुगेको अनुगमन टोलीलाई प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालले जानकारी गराउनुभयो ।

बाढी तथा डुबानबाट नरैनापुरमा मात्र दुई सय घरधुरीमा पूर्ण क्षति भएको छ । पानी नपरेपछि गत साउनमा नरैनापुरलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेपनि सरकारले कुनै प्रकारको राहत उपलब्ध गराउँन नसकेकै अवस्थामा फेरि बाढी र डुबानको समस्याले स्थानीयहरुलाई झन पिडा दिएको बताउँदै गाँउपालिका अध्यक्ष शाहले संघीय सरकारलाई गम्भीर बन्न आग्रह गर्नुभयो ।

Previous articleबर्दियाको राजापुर नगरपालिकाका ८ सय घर डुबानमा
Next articleदाङमा घरमा काम गर्न राखेको बालिकामाथि यौन दुर्व्यवहार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here