जोखिम मोलेर डुङ्गाको यात्रा गर्नुपर्ने बाध्यता

रासस, कैलाली । कैलालीको टीकापुर नगरपालिका-२ का वीरबहादुर चौधरी तिहारका दिन निकै हतारमा हुनुहुन्थ्यो । हतारमा घरबाट निस्कनुभएका उहाँले टीकापुर र बर्दिया जोड्ने कर्णाली नदीको सन्कट्टीमा एक घण्टा कुर्नुपर्यो ।

डुङ्गा (स्टिमर) को भरमा नदी तर्नुपर्ने बाध्यताका कारण वीरबहादुरजस्ता कयौँ व्यक्ति समयमै आफ्नो गन्तव्यमा पुग्न सकेनन् ।

एउटै डुङ्गामा सयौँलाई वारपार गराउनुपर्दा र यात्रुले पालो नपाउँदा समयमै गन्तव्यमा पुग्न पाएनन् । डुङ्गालाई एक पटक वारपार गर्न आधा घण्टा लाग्ने भएका कारणले पनि वीरबहादुरलाई गन्तव्यमा पुग्न समय लागेको हो ।

बर्दियाको पाताभारबाट टीकापुर आउनुभएका अनिश थारू पनि डुङ्गाको पालो पर्खेर बस्नुभएको थियो । निकै छट्पटी देखिनुभएका उहाँ निकै हतारमा हुनुहुन्थ्यो भन्ने कुराको भाव बाहिरै छल्किन्थ्यो ।

कैलालीको लम्कीचुहा नगरपालिकाका मीनबहादुर धामीलाई पनि निकै हतार थियो । हतारमा सन्कट्टी पुग्नुभएका उहाँलाई कर्णाली नदी पार गर्न एक घण्टाभन्दा बढी लाग्यो ।

घरमा भएका दिदीबहिनीसँग टीका लगाएर बर्दियामा रहनुभएकी दिदीको हातबाट टीका लगाउनका लागि शान्तिबजार जान लाग्नुभएका उहाँलाई डुङ्गामा यात्र गर्ने नागरिकको भिडले समयमै गन्तव्यमा पुग्न पाउनुभएन ।

‘राजापुरबाट जाँदा एक घण्टा ढिलो हुने भएकाले यताबाट आएको हुँ । सन्कट्टीमा पनि अवस्था उस्तै रहेछ, धामी भन्नुहुन्छ, मानिसको निकै चाप छ, त्यसैमा पनि गाडीले भरिएको डुङ्गामा यात्रा गर्दा पारि पुग्न पाइन्छ कि पाइँदैन भन्ने ठूलो डर ।’

चाडपर्वको समयमा नदी वारपार गर्ने नागरिकको निकै भिड लाग्ने गरेको छ । एक पटकमा १५ देखि २० जनासम्मलाई नदी तार्न सक्ने डुङ्गामा त्यहीँ मात्रामा गाडी पनि भरिएका हुन्छन् ।

नदी वारपार गर्ने अर्को विकल्प नहुँदा स्थानीयवासी जोखिम मोलेरै यात्रा गर्न बाध्य छन् । एउटा व्यक्तिले नदी तर्दा २५ र मोटरसाइकलको ५० रुपैयाँ तिर्नुपर्छ ।

नदीसम्म गाडी नभएकालाई पुग्न अझ कठिन छ । टीकापुरबाट नदीसम्म पुग्नका लागि एकमात्र विकल्प बनेको छ अटोरिक्सा । नदीसम्म पुगेको एक यात्रुको पाँच सय रुपैयाँसम्म रिक्सा चालकले लिने गरेका छन् ।

टीकापुरका मनोज चौधरी गएको तीन वर्षदेखि त्यहीँ मार्गमा अटोरिक्सा चलाउनुहुन्छ । टीकापुरदेखि सन्कट्टीसम्म पुर्याएको पाँच सय रुपैयाँ लाग्ने गरेको छ । नदी तरेर पारि बर्दिया क्षेत्रमा पुगेपछि पनि अटोरिक्साभन्दा अर्को गाडीको विकल्प छैन ।

त्यहाँबाट शान्तिबजार पुगेको पनि पाँच सय रुपैयाँ तिर्नुपर्ने बाध्यता छ । अस्तव्यस्त सडकका कारण रिक्साको भाडा महँगो हुन गएको उहाँ बताउनुहुन्छ ।

‘बाटो निकै अप्ठ्यारो छ, पेट्रोल महँगो छ ।’ मनोज भन्नुहुन्छ ‘बाटो राम्रो भए समयमै यात्रुलाई पुर्याउन सकिन्छ । बाटोकै कारण यात्रु मारमा परेका छन् तर हाम्रो पनि बाध्यता छ ।’

बर्दियाको गेरुवा गाउँपालिका र राजापुर नगरपालिकासँग टीकापुरको सम्बन्ध पारिवारिक र व्यापारिकरूपमा नजिक छ । हुलाकी राजमार्ग अन्तर्गत सत्तीमा पुल निर्माण भएको भएपनि त्यहाँको भन्दा बढी आवागमन सन्कट्टी र दौलतपुरबाट हुने गरेको छ ।

त्यहाँ दुवै क्षेत्रमा वर्षौँदेखि डुङ्गा सञ्चालन हुँदै आएको छ । स्थानीय सरकारले डुङ्गा सञ्चालन गरेबापत राजस्व सङ्कलन गर्दै आएको छ ।

सनकट्टीमा पुल निर्माणका लागि गएको आर्थिक वर्षमा नै बोलपत्र आह्वान भएर ठेक्कासमेत भएको छ । ठेक्का भएको पुल निर्माणको कुनै प्रक्रिया अहिलेसम्म नभएको भन्दै स्थानीयवासीले गुनासो गर्दै आएका छन् ।

पुल निर्माण भएपछि सहजरुपमा आवागमन गर्न सक्ने भन्दै पुल निर्माणको काम समयमै सम्पन्न गर्न स्थानीयवासीको माग छ ।

Previous articleबियरको बोतलले हानेर दुई जना घाइते
Next articleछठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here