
नेपालगन्ज । स्थानीय तह निर्वाचन सकिएको करिब ६ महिना भयो । स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारले जुन किसिमको नतिजा आयो त्यसपछि देशमा ‘स्वतन्त्र फिभर’ ले सामाजिक संजाल मात्रै होइन भोटमा पनि परिवर्तन हुने संकेत देखा पर्दै गएको छ ।
काठमाडौंमा बालेन शाह र धरानमा हर्क साम्पाङले गरेको काम र निर्णयले स्वतन्त्र उम्मेदवार प्रती अझ मलजल गरेको छ ।यस्तोमा बाँकेमा पनि एक जना स्वतन्त्र उम्मेदवारले त्यस्तै किसिमको चुनावी अभियान अगाडी सारेर प्रदेश सभा सदस्यको लागी चुनावमा होमिएका छन् ।
पेशाले चिकित्सक, मध्य तथा सुदुरपश्चिम प्रदेशमै चर्चित प्लास्टिक सर्जन डाक्टर बिनोद कर्ण बाँकेका स्थानीयका लागी बालेन शाह र हर्क साम्पङ हुनुहुन्छ । बालेन र साम्पाङको समर्थनमा रहेका बाँकेका जनाताको लागी कर्ण अबको आशा हुनुहुन्छ ।
नेपालगन्जको माहोलले त्यस्तै देखाएको छ । डाक्टर कर्णको चुनावी अभियानले पनि त्यस्तै सन्देश दिएको छ । उहाँको लोभलाग्दो पेश । लामोसमयसम्म उहाँले नेपालगन्जमा संचालन गरेको सरसफाइ र बृक्षारोपणको अभियान अनि युवापुस्तामा त्यसको प्रभावले बाँके क्षेत्र नम्बर २ (ख) मा नयाँ खाले माहोल बन्दै गएको युवाहरु बताउँदै आएका छन् । अस्पतालमा बिरामीको उपचार गर्ने चिकित्सक डाक्टर कर्ण अहिले भने नेपालगन्जको घरदैलोमा ब्यस्त बन्नुभएकाे छ ।
घरदैलोमै कुनै विशेष केश आउँदा अस्पताल पुग्ने गर्नुभएका कर्ण स्वतन्त्र उम्मेदवारमा सम्भावना बोकेका उम्मेदवारको रुपमा चिनिन थाल्नुभएकाे छ । राजनीतिक दलहरुबाट दिक्क भएका मतदाहरुले स्वतन्त्र उम्मेदवारको खोजी गरिएको अवस्थामा डाक्टर कर्णको उम्मेदवारीले नेपालगन्जमा आशा दिएको स्थानीयहरु बताउँछन् ।
मंसिर ४ मा हुने निर्वाचनमा बाँके क्षेत्र नम्बर २ प्रदेश (ख) बाट चुनावी अभियानमा होमिनुभएका डाक्टर कर्ण निर्वाचन आयोगबाट प्राप्त चुनाव चिन्ह बिजुलीको चिम (बल्ब) लिएर प्रचारप्रसारमा ब्यस्त बन्नुभएकाे हाे ।






