
नेपालगञ्ज । मंसिर ४ गते मतदान हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रचारप्रसार चरममा पुगेको छ । बाँकेमा प्रतिनिधिसभाका ३ र प्रदेशसभाको ६ पदको लागि चुनावी प्रतिस्पर्धा हुँदैछ ।
यस्तोमा बाँके क्षेत्र नम्बर दुई प्रदेश (ख) बाट प्रदेश सभा सदस्यको लागि चुनावी अभियानमा होमिनुभएका ‘डाक्टर उम्मेदवार’ को चर्चा र चुनावी अभियान अलि बेग्लै छ ।
नेपालगन्ज मेडिकल कलेजमा कार्यरत मध्य तथा सुदूरपश्चिमकै चर्चित प्लास्टिक सर्जन डाक्टर बिनोद कर्णले बाँके क्षेत्र नम्बर दुई प्रदेश (ख) का लागि प्रदेश सभा सदस्यमा उम्मेदवारी घोषणा गरेसंगै नेपालगन्जमा उहाँको चर्चा चुलिँदै गएको थियो जुन हाल चरममा पुगेको छ ।
यस क्षेत्रकै चर्चित प्लास्टिक सर्जन डाक्टर कर्ण हरेक दिन सामाजिक कार्यमा बजारकै कुनै कुनामा भेटी रहने व्यक्ति हुनुहुन्छ । नेपालगन्ज नगरमा सरसफाइ, वृक्षारोपन तथा अन्य समाजिक कार्यमा कर्ण चिरपरिचित नाम हो ।
सन् २०१६ सेप्टेम्बर ३ मा पहिलोपटक डाक्टर कर्णले सरसफाइ अभियान सुरु गरेको याद गर्नुहुन्छ । लामो समय विदेशमा पढाईको सिलसिलामा बसाई गरेर नेपालगन्ज फर्किँदा उस्तै फोहोर शहर देखेपछि आफैं जुट्नुपर्छ भन्ने सोचका साथ ग्रीन एन्ड क्लिन नेपालगन्जको अभियान साथिहरुसंग मिलेर सुरु गरेको बताउनुहुन्छ डा.कर्ण ।
उ बेला केही क्लबका साथिहरु र केही ब्यक्तिहरु मिलेर कारकाँदो चोक देखि पुष्पलाल चोकसम्म पहिलोपटक सरसफाइ गरेका थियौं, पछि त्यो अभियान पूरा नेपालगन्ज र आसपासका क्षेत्रमा फैलिँदै गयो’डाक्टर कर्णले बताउनुभयो ।
लामो समय सामाजिक कार्यमा र नेपालगन्जको वातावरण स्वच्छ राखौं भन्ने अभिप्रायले अभियानको रुपमा कार्य गर्दै आएका कर्णले २०७४ को चुनावमा समेत उम्मेदवारी घोषणा गरेर चुनावमा होमिनुभएको थियो ।
उ बेला डाक्टर कर्ण बैकल्पिक शक्ति भनेर आफूलाई चिनाउने विवेकशील साझा पार्टीको प्रतिनिधित्व गर्दै चुनावमा होमिनुभयो । अहिले भने डाक्टर कर्ण स्वतन्त्र उम्मेदवारी घोषणा गरेर चुनावी मैदानमा हिँड्नुभएको छ ।
उहाँ बिहानै मतदाताको घरदैलोमा पुग्नुहुन्छ । भोटको आश्वासनसंगै सबैको स्नेह बटुलेको कर्णको अनुभव छ । कर्ण आफूले सक्रिय राजनीतिमा भन्दापनि आफ्नो शहरलाई राम्रो पार्न चुनावी मैदानमा होमिएको बताउनुहुन्छ ।
मलाई राजनीति गर्नु, राज्यको नीति नियम निर्माणको तहमा पुग्नु भन्दापनि आफ्नो शहर कसरी विकास गर्न सकिन्छ त्यतातर्फ ध्यान भएकाले प्रदेशमा आफूले उम्मेदवारी दिने उहाँले बताउनुभयो । ‘अरुले मेरो शहर बनाई देला भन्दा भन्दै कसैले नगरेपछि मैले आफैं उम्मेदवारी घोषणा गरेको हो कर्ण बताउनुहुन्छ ।
डाक्टर कर्ण चिकित्सा क्षेत्रमा जस्तै चुनावी मैदानमा सफल होलान्, उहाँले बोकेको ग्रीन एण्ड क्लिन नेपालगन्जको मुद्दालाई बाँके क्षेत्र नम्बर दुई प्रदेश (ख) का जनताले पत्याउलान त्यो निर्वाचनको परिणाम कुर्नै पर्छ, तर जसरी उहाँले उठाएका मुद्दा साधारण लागे पनि जनताको प्रत्यक्ष सरोकार राख्ने विषय भएकाले स्थानीयहरु कर्णसंग जोडिदै गएका छन् ।





