उपमहानगरको देखाउने कार्य मात्र भयो छाडा चौपाया नियन्त्रण !

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले छाडा पशु चौपाया व्यवस्थापन अभियान थालेको छ ।

बिहीबार विहानदेखि नगरका विभिन्न ठाउँबाट छाडा पशु चौपायालाई धपाएर नेपालगञ्ज-२१ विर्तास्थित काञ्जीहाउस लैजान थालेको छ ।

नगर प्रमुख प्रशान्त विष्ट र प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल आफैं सडकमा निस्केर पशु चौपाया व्यवस्थापन कार्यमा लाग्नुभएको छ ।

नगर प्रहरी प्रमुख सूर्य बोगटीको नेतृत्वमा छाडा पशु चौपाया काञ्जी हाउस लगिएको छ । बिहीबार कारकाँदो क्षेत्रबाट २८ वटा घोडा खच्चडलाई काञ्जीहाउस पुर्याइएको नगर प्रहरी प्रमुख बोगटीले बताउनुभयो ।

सडकमा छाडा पशु चौपाया बढ्न थालेपछि उपमहानगरपालिकाले नियन्त्रण र व्यवस्थापन थालेको हो । छाडा पशु चौपायाका कारण दुर्घटनाको जोखिम बढ्न थालेपछि नियन्त्रण र व्यवस्थापन कार्यलाई अभियानकै रुपमा अघि बढाइने नगर प्रमुख विष्टले बताउनुभयो ।

‘दैनिकरुपमा नै अब सडकबाट छाडा पशु चौपाया धपाएर काञ्जीहाउस लैजान्छौं,’ नगर प्रमुख विष्टले भन्नुभयो, ‘छाडा पशुचौपाया व्यवस्थापनलाई हामी उच्च प्राथमिकतामा राखेर काम गर्छौं ।’ सडकमा जथाभावी पशु चौपाया छोड्ने विरुद्ध कडा ढंगले प्रस्तुत हुने विष्टको भनाई छ ।

जथाभावी पशु चौपाया छोड्नेहरुले काञ्जी हाउसमा पुर्याइएका छाडा पशु चौपाया फिर्ता लिन दैनिक १५ सय रुपैयाँ जरिवाना तिर्नुपर्दछ । सात दिनसम्म पनि कोही लिन नआएमा लिलाम गरिने उपमहानगरपालिकाले जनाएको छ ।

यसअघिका जनप्रनिधिले पनि नेपालगञ्जलाई छाडा चौपाया मुक्त बनाउने अभियान शुरु गरेका थिए । तर दिगो बनाउन सकेका छैनन् ।

नेपालगञ्ज उपमहानगरालिकालाई काम देखाउने कार्यका रुपमा समेत यो कार्य देखिएको सर्वसाधारण बताउँछन् । एक दिने धपाउने अर्कोदिनदेखि कर्मचारीको लापरवाहीका कारण नेपालगञ्जका सडक फेरि उस्तै देखिन थाल्छ ।

Previous articleमतपेटिकामा पत्र पनि भेटियो, ‘जय नागरिक, जय देश, नेताको बदलौं आफ्नो भेष’
Next articleबिदा भए म्यादी प्रहरी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here