
नेपालगञ्ज । एक दशक लामो सशस्त्र द्धन्द्धको औपचारिक अन्त्य भइ राज्य र विद्रोही पक्षबीच बृहत शान्ति सम्झौता भएको दिन ०६३ मंसिर ५ गतेको स्मरणमा आयोजना गरिदै आएको आठौं धारा नेपालगञ्ज म्याराथन यस बर्ष दुई दिने उत्सवमय बन्ने भएको छ ।
क्रियटिभ ह्याण्ड्सको आयोजना तथा क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा मंसिरको पहिलो शनिवार हुने आठौं धारा नेपालगञ्ज म्याराथन आमनिर्वाचनका कारण यसबर्ष भने मंसिर २४ गते शनिवार हुँदैछ ।
नेपालगञ्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाको संरक्षकत्वमा हुने म्याराथनको पहिलो दिन विविध बिषयमा मन्थन हुनेछ । प्रदर्शनी व्यवस्थापन संयोजक आशीष श्रेष्ठले आइतवार उपमहानगरपालिका प्रमुख प्रशान्त बिष्टसँग भेट गरी दुई दिने कार्यक्रमका बारेमा विस्तृत जानकारी गराउनुभयो ।
उक्त भेटमा नगर प्रमुख बिष्टले यस कार्यमा सिंगो उपमहानगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नगरप्रमुख बिष्टसँगको भेटमा स्वास्थ्य उपसमिति संयोजक दिपेश शर्माको समेत उपस्थिति थियो ।
कार्यक्रम उपमहानगरपालिका परिसरमा हुनेछ । म्याराथनको अन्तर्राष्ट्रिय अभ्यासलाई अनुशरण गर्दै दुई दिने एक्स्पो झझल्को दिन लागेको संयोजक आशीष श्रेष्ठले बताउनुभयो । म्याराथनमा आर्थिक, पर्यटन, सिनेमा, साहित्य, खेलकुदका जानकारहरु ऐक्यवद्धता जनाउन आउदैछन् ।
अतिथिलाई नेपालगन्जका बारेमा जानकारी दिने र जानकार व्यक्तित्वबाट नेपालगञ्ज (बाँके)का बासिन्दाले केही सिक्ने अवसरका रुपमा नेपालगन्ज म्याराथन रहने संयोजक बिष्टले जानकारी दिनुभयो । ‘उपमहानगरपालिका परिसरमा स्टेज र स्टल निर्माण हुनेछ ।’
संयोजकले श्रेष्ठले भन्नुभयोे–‘त्यहाँ नेपालगन्जको स्वाद, समग्र खेलकुद र पर्यटन विकासका सम्भावना, नेपालगञ्ज (बाँके)ले गर्नुपर्ने आर्थिक समृद्धिको प्रयास, सिनेमा र साहित्यका बिषयमा मन्थन हुनेछ ।
कलेजका किशोरकिशोरी र युवापंक्तिलाई सिक्नका लागि सहभागिताको अवसर प्रदान गरिनेछ । आठौं धारा नेपालगञ्ज म्यराथनलाई केएल दुगड ग्रुपले मुख्य प्रायोजन गरेको छ । नेपालगञ्जको अर्को प्रतिष्ठित व्यवसायिक घराना शिखर प्लाईले सहप्रायोजन गरेको छ । कान्तिपुर टिभी पावर्ड बाइ पार्टनरका रुपमा रहेको छ ।
होटल सोल्टी वेष्टइन्ड प्रिमियर हस्पिटालिटी पार्टनर, भायोनेट आईएसपी पार्टनर, बडवाइजर सेलिब्रेसन पार्टनर, सगरमाथा सिमेन्ट स्ट्रेन्थ पार्टनर, टेलिकम पार्टनर नेपाल टेलिकम, नेपाली पात्रो कम्युनिटी पार्टनर, दराज इकमर्स पार्टनर, हाम्रो खेलकुद डट कम ब्रोडकास्ट पार्टनर, जिनेपाल फोरके टिभी टेलिभिजन पार्टनर, दैनिक नेपालगञ्ज प्रिन्ट मिडिया पार्टनर, नेपालगञ्ज ग्यालेरी र कोहलपुर ग्यालेरी सोसल मिडिया पार्टनर रहेका छन् ।
नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, लुम्बिनी खेलकुद परिषद, राष्ट्रिय खेलकुद परिषद महत्वपुर्ण साझेदारका रुपमा रहेका छन् । यसबर्ष नेपालगञ्ज म्याराथनमा ४२.१९५ किमी, २१ किमी, १० किमी र ५ किमी गरी चार रेशलाई एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेश(एम्स)ले प्रमाणीकरण गरेको छ ।
हरेक खेलाडीका लागि अब नेपालगञ्ज म्याराथन प्रवेशद्वारका रुपमा रहनेछ । यो नेपालगञ्जका लागि, लुम्बिनी प्रदेशका लागि र नेपालका लागि उपलब्धिमुलक रहनेछ । यो हामी सबैको लागि खुशीको कुरा हो ।
गत बर्ष झैं यस बर्ष पनि बिभिन्न ११ वटा विधामा स्पर्धा समावेश गरिनेछ । कर्पोरेटतर्फ महिला यसबर्ष थप गरिएको हो । पुरुषतर्फ म्याराथन (४२.१९५किमी), महिलातर्फ हाफ म्याराथन (२१किमी), १० किमी पुरुष खुल्ला, ५ किमी महिला खुल्ला, ५ किमी स्कुलस्तरीय छात्र, ३ किमी स्कुल स्तरीय छात्रा, किड्स रन (८देखि १२ बर्ष उमेरसमुह), २ किमी कर्पोरेट रन पुरुष तथा महिला, एक किमी ट्राइसाइकल र वाकाथन समावेश गरिएको छ ।
स्कुलस्तरीय दौड भने बाँके जिल्ला स्तरीय मात्र हुनेछ । साथै बिभिन्न विधालाई समेट्दै पुरस्कृत गरिनेछ । सहभागिता एवं भव्य बनाउने आधारमा शैक्षिक संघसंस्था, क्लब, आमा समुह, वडा समिति, बिभिन्न भेषभुषा र कला सम्बन्धि बिषयमा समेत मुल्यांकन गरी पुरस्कृत गरिनेछ ।





