
नेपालगञ्ज । यातायातका साधनहरु मानिसको दैनिक जीवन सहज बनाउनका लागि उपयोग गरिन्छ । नेपालगञ्जमा ठूला सार्वजनिक सवारी साधनहरु कमै रहेका छन् ।
व्याट्रीबाट चल्ने अटो रिक्सा मानिसका सहयात्री बनेका छन् ।
नेपालगञ्ज साइकलको शहर पनि हो तर साइकलको लागि छुट्टै लेन बनाउन खासै चासो दिइएको देखिदैन् । साना सवारी साधन–साइकल, रिक्सा, अटोरिक्साका, म्याजिकका लागि छुट्टै लेन तोकिएको मात्र भए नेपालगञ्जको यातायात अनुसाशीत र व्यवस्थापनमा सहज हुने देखिन्छ ।
बाटोमा मोटरसाइकल चलाउने तरिका तथा म्याजिक भ्यान र लोकल बसको आपसी प्रतिस्प्रर्धा, सवारी रोक्ने र चढाउने तरिका घातकनै देखिन्छ । ठुला सवारी साधनले साना सवारी साधन अझ बढि साइकल चलाउनेलाई हेप्ने त सामान्य जस्तो नै देखिन्छ ।
पैदलयात्रीको कुरा गर्ने हो भने, नेपालगञ्जको कुनै पनि स्थानको बाटो हिड्ने पैदल यात्रीमैत्री देखिदैन, अपाङ्गमैत्री त सोच नै नभए जस्तो देखिन्छ । भएका फुटपाथमा पनि विच विचमा ठुला खाडलहरु, स्लायवहरु नमिलाइएका र व्यवसायीक प्रयोगमा रहेका छन् त्यसैले पैदलयात्रु पनि सवारी साधन हिड्ने बाटामा नै हिड्न वाध्य छन् ।
अझ जेब्रा क्रसको त कुरै नगरौं, यी त बाटो विचका फगत सेता धर्कामात्र देखिन्छन् । कोहि पैदल यात्री जेब्रा क्रसबाट बाटो काट्न खोज्यो भने सवारी साधनहरु अझ बेगमा पैदल यात्री भन्दा पहिला जेब्रा क्रस गरेर, हर्न बजाउदै जाने गर्दछन् ।
नेपालगञ्जको सवारीचाप हेर्ने हो भने पनि विहान र बेलुका सदर लाइनमा बाहेक अन्य ठाँउहरुमा खासै देखिदैन । सदरलाइनमा पनि रिक्साको व्यवस्थापनमा विषेश ध्यान दिने हो (यात्रु चढाउने र ओराल्ने मात्र पर्खन नदिने) भने सवारीचाप सामान्य नै देखिन्छ ।
नेपालगञ्जको बसपार्क हाल मुख्य शहरभन्दा अलि भित्र भएको हुँदा आम जनतालाई आउँदा जाँदा बसपार्कनै पुग्न खर्चपनि हुने र बसमा सोहि बाटो फर्कन पर्ने हुँदा झर्को लाग्ने पनि गर्दछ । त्यसैले धेरैजसो यात्रु सुर्खेत रोडबाट नै चढ्न रुचाउछन् ।
जुनसुकै शहरमा, जतिनै सवारी चाप भएपनि यात्रुको सहजताका लागि लामो दूरीमा चल्ने सवारी साधन वा सो क्षेत्र (ठाँउ) भन्दा बाहिर जाने यातायातका साधनहरुलाई मुख्य भागमा यात्रु चढाउन र ओराल्न दिने गरिन्छ ।
बसपार्क टाढा भएको शहरमा भने शहरको कुनै एक निश्चित स्थानमा यातायातका साधनहरुलाई रोक्नका लागि व्यवस्था रहेको पाइन्छ । नेपालगञ्जको यातायातका लागि भने ट्राफिक प्रहरी र यातायात व्यवसायीको इच्छा अनुसार सवारी साधनको व्यवस्थापन रहेको पाइन्छ ।
पहिला धम्बोझी चोक, पुष्पलाल चोक, कारकाँदो चोक, प्रहरी तालिम केन्द्र हुँदै केहि दिनदेखि सवारी साधनहरु सडक विभाग अगाडी रोक्न थालिएको छ । कुनै यात्रुको बस पार्कबाट बस वा सवारी साधन छुट्यो भने कम्तिमा ३० देखि ४५ रुपैया थप तिरेर रिक्सामा जानुपर्ने हुन्छ भने शहरको मुख्य भागबाट सवारी साधन चढ्ने सम्भावना नै छैन ।
लोकल सवारी साधनलाई भने न रोक्ने स्थान तोकिएको छ, न चढाउने स्थान तोकिएको छ, बिच लेनबाटै वा यात्रु उभिएकै कुनैपनि स्थानमा रोक्न छुट भएको पाइन्छ । यदि सवारी साधन राम्रो व्यवस्थापन नगर्ने अनि ट्राफिक प्रहरी र यातायात व्यवसायीको इच्छा अनुसार बाहिर जाने सवारी साधन रोक्ने हो भने सडक विभाग त नजिकै भयो, वसपार्कबाट निक्लने गाडीलाई राँझा चोक वा कोहलपुरमा मात्र रोक्ने अनुमति दिँदा व्यवस्थित हुन्छ ।
यात्रुहरुको सहजताको निम्ति हो भने मुख्य बजारको नजिक वा कुनै मुख्य चोकमा (पुष्पलाल चोक नै उपयुक्त हुन्छ) केहि समय सवारी रोक्न दिने र सहि व्यवस्थापन गर्नु पर्दछ । नेपालगञ्जको यी र यस्ता सामान्य परिवर्तनले सवारी व्यवस्थापनमा ठुलो परिवर्तन गर्न सक्दछ ।
साथै फुटपाथहरु व्यवसायीक प्रयोग हुने र छाडा चौपाया सबै सहरहरुको साझा चुनौतीको रुपमा रहेका छन् । त्यसैले यसको दिगो समाधान खोज्न जरुरी देखिन्छ । हाल यातायात व्यवस्थापन उप-महानगरपालिका र नगर प्रहरीको मात्र जिम्मेवारी जस्तो देखिए पनि यी र यस्ता समस्याका लागि उप-महानगरपालिका, यातायात विभाग, सडक विभाग, ट्राफिक प्रहरी, व्यवसायी र जनताको सयुक्त प्रयास आवश्यक देखिन्छ ।






यदि सवारी साधन राम्रो व्यवस्थापन नगर्ने अनि ट्राफिक प्रहरी र यातायात व्यवसाहीको इच्छा अनुसार बाहिर जाने सवारी साधन रोक्ने हो भने सडक विभाग त नजिकै भयो वसपार्क बाट निक्लने गाडीलाई राझा चोक वा कोहलपुरमा मात्र रोक्ने अनुमति दिदा व्यवस्थित हुन्छ ।
……