बाँकेमा विषालु सर्पकाे बिगबिगी

बाँके । गर्मी बढेसँगै बाँकेमा विभिन्न प्रजातिका विषालु सर्प देखिन थालेका छन् । खासगरी रसेल भाइपर, फेटारा, गोमन, करेत, धामन, अजिङगरलगायतका सर्प देखिन थालेको डिभिजन वन कार्यालयले जनाएको छ ।

वन कार्यालयका सिनियर डिभिजन वन अधिकृत शङ्करप्रसाद गुप्ताले गर्मी खप्न नसक्ने अवस्थाले सर्प चिसोको खोजीमा बाहिर निस्कँदा केहीको घरमा पसेको उल्लेख गर्दै ती सर्पको उद्धार गरिएको बताउनुभयाे । “अहिले दैनिकजसो एउटा सर्पको बस्तीबाट उद्धार गरिएको छ र कहिलेकाहीँ दिनमा तीन सर्पको समेत उद्धार गरिएको छ”, उहाँले भन्नुभयाे ।

उहाँले अहिलेको गर्मीमा विगतको वर्षभन्दा बढी सर्प जमिन बाहिर देखिएको जानकारी दिँदै ती सर्पको उद्धार गरेर जङ्गलमा लगेर छाडिएको बताउनुभयाे । यस आर्थिक वर्षमा चिसोयाममा समेत सर्पको उद्धार भएको थियाे ।

उहाँले अहिलेसम्म यस आर्थिक वर्षमा १४० विभिन्न प्रजातिका सर्पको उद्धार गरिएको जानकारी दिए । सर्प उद्धार गर्नका लागि सशस्त्र वनरक्षक थीरबहादुर थापाको संयोजकत्वमा उद्धार टोली गठन गरिएको गुप्ताको भनाइ छ ।

साे टोलीलाई केही उपकरणसहित सामान्य तालिम दिइएको उल्लेख गर्दै उहाँले नेपालगन्जबाहेक कोहलपुरबाट समेत सर्पको उद्धार भएको बताउनुभयाे । बाँके राष्ट्रिय निकुञ्ज तथा त्यसको मध्यवर्ती क्षेत्रबाहेक जिल्लाका सम्पूर्ण भूभाग डिभिजन वन कार्यालयको कार्यक्षेत्रभित्र पर्ने डिभिजन वन कार्यालयले जनाएको छ । रासस

Previous articleआलाेचनापछि गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here