
बाँके । भारतीय सीमा नाकामा गरिएको सय रूपैयाँ बराबरको सामान बाहेकको भन्सार गराउनुपर्ने नीतिलाई सामाजिक संजालमा जुन अतिरंजित ढंगले केही स्वार्थी ब्यापारी र चुपचाप घन्टी छापवालाहरु प्रचार गरिरहेका छन् मानौ उनीहरु मात्रै राष्ट्रबादी बाँकी सबै देशद्रोही हुन् ।
म ति कथित राष्ट्रबादीहरुलाई सोध्न चाहन्छु कि के तपाईहरु कहिल्यै किनमेल गर्न सीमापारी जानु भएन ? तपाई ब्यापारी हुनुभन्दा पहिले उपभोक्ता हो र तपाईले ब्यावसायीको हितसंगै उपभोक्ता हितको पनि सवाल उठाउन सक्नुपर्छ । सीमा बजार राज्यको गलत नीतिले प्रभावित भएको हो, नकि भारतीय बजारले गर्दा ।
राज्यले आफ्नो उत्पादन नबढाउने, आन्तरिक स्रोतहरुको खोजी नगर्ने, प्राकृतिक संसाधनहरुको खोजी नगर्ने, उत्पादनमुखी अर्थतन्त्र बनाउने तिर ध्यान केन्द्रित नगरी आयातमुखी अर्थतन्त्र मै भर परी भन्सार शुल्कलाई नै मुख्य आम्दनी मानेर चर्को राजश्वको भार उपभोक्ता उपर थोपरेर महंगो दरमा किनमेल गर्न बाध्य गराउनु कति न्यायेचित कुरा हो ।
नेपालको कुल बैदेशिक ब्यापारको ६०% भारतसंग मात्र हुने गरेको छ । जसको ४०/४५ % ब्यापार अबैधानिक तरिका ले हुन्छ भनेपछि कुल आयातको ३०% मात्र बैधानिक बाटोबाट नेपाल भित्रिने गरेको छ । जसको प्रमुख कारण हो चर्को भन्सार मुल्य र भन्सारमा गरिएको सिण्डिकेट प्रणाली ।
आम व्यक्तिहरू मेरो आसय पटक्कै पनि सीमा पारी गएर किनमेल गर्नुपर्छ भन्ने होईन, तर उपभोक्तालाई महंगोमा खरिद गर्न बाध्य बनाउनु र सीमामा रहेका नागरिकसँग दुर्ब्यवहार गर्नुलाई कदापि पनि समर्थन गर्न सकिंदैन । नेपालको सीमावर्ती क्षेत्रमा कसिनो र स्पाहरु उल्लेख्य संख्यामा छन् ।
हजाराैंकाे जिविका यसैमाथि आश्रित छ । बिश्व भरि ईंधन अभाव हुँदै गर्दा भारतले नेपाललाई गर्ने आपुर्ति यथावत राखेको छ । यसैगरी तमाम नेपालीहरु भारतमा आफ्नो श्रम बेचेर परिवार पालेका छन् । यदि यसै कारणले सीमामा भारतीय तर्फबाट त्यहाँका ब्यापारी र नागरिकले तनाव सृजना गरे भने परिस्थिति असामन्य बन्न सक्छ ।
अन्ततः सरकारले तस्करहरुमाथि कडाई गर्नुपर्छ । सगसंगै आफ्नो उत्पादन क्षमता बढाउन कृषकहरुलाई समयमा बिउ-बिजन र सिंचाई र बजारीकरणको ब्यवस्था गर्नुका साथै भन्सारमा लगाईएको सिण्डिकेट प्रथालाई खारेज गरेर सबैको लागि भन्सार खोल्नुका साथै मुल्यांकन घटाएर वारी र पारीको मुल्यमा रहेको ठुलो अन्तरलाई न्यून गरी नेपाली उपभोक्ता सीमा पारी जाने अवस्थालाई र बानीलाई नै निरुत्साहित गर्नु जरूरी छ ।






