
बाजुरा । नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे बाजुराबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ ।
उहाँ आज बिहान ३१ हजार ७८६ मत सहित निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कर्णबहादुर थापाले २६ हजार ३४९ मत पाउनुभयो ।
राप्रपाका उम्मेदवार जंग कुमार गिरीले २०७ र स्वतन्त्र उम्मेदवार टेकबहादुर बडुवालले ११४ मत प्राप्त गर्नुभयो । प्रदेश सभातर्फ क्षेत्र नं-१ (१) बाट एकीकृत समाजवादीका नरेशबहादुर शाही र प्रदेश सभा-२ बाट नेपाली कांग्रेसका पदमबहादुर शाही निर्वाचित हुनुभयो ।
यस्तै प्रदेश सभामा नेपाली कांग्रेसका पदमबहादुर शाही निर्वाचित हुनुभएको छ । प्रदेश सभा-२ बाट शाही २० हजार ११९ मतसहित निर्वाचित हुनुुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार लाल बहादुर थापाले १७ हजार ५२१ मत प्राप्त गर्नुभयो ।
स्वतन्त्र उम्मेदवार जनक बहादुर रावलले १५५ र राप्रपाका उम्मेदवार हिमाल बहादुर शाहीले १२२ मत पाउनुभयो । ८३४ मत बदर भएको छ । प्रदेश सभा १ मा भने नेकपा एकीकृत समाजवादीका नरेशबहादुर शाही शनिबार नै विजयी भइसक्नुभएको छ ।
शाहीले १० हजार ९७३ मत पाएर निर्वाचित हुँदा उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार बलदेव रेग्मीले ८ हजार ६३२ मत पाउनुभएको थियो ।





