‘विपतमा निजी क्षेत्र’को भूमिकाका विषयमा नेपालगञ्जमा छलफल

नेपालगञ्ज । विपतमा निजी क्षेत्रको भूमिकाका विषयमा नेपालगञ्जमा छलफल गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले बनाइरहेको आपतकालीन पूर्व तयारी तथा प्रतिकार्य योजना निर्माण प्रक्रियामा निजी क्षेत्रको भूमिकाका विषयमा आज आयोजित छलफलमा निजी क्षेत्रका प्रतिनिधिहरुले सहकार्य, समन्वय र सहयोगका लागि आफूहरु सधैं तत्पर रहेको बताएका छन् ।

नेपालगञ्ज उपमहानगरपालिकाको आयोजना तथा युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ र युएन ओमनको साझेदारीमा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको प्राविधिक सहयोगमा संचालित शहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर प्राजेक्ट) अन्तर्गत गरिएको छलफलमा निजी क्षेत्रका प्रतिनिधिहरुको उपस्थिति रहेको आपतकालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिनुभयो ।

कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाको वातावरण तथा विपत समिति सदस्य एवम् वडा नम्बर ६ का वडा अध्यक्ष समिरप्रताप सिंहले निजी क्षेत्रबाट आएका सल्लाह, सुझाब र पृष्ठपोषणलाई योजनामा समेटेर अघि बढ्न नेपालगञ्ज उपमहानगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो ।

नेपालगञ्ज उद्योग बाणिज्य संघका महासचिव चिरञ्जिवी ओलीले विपत पूर्व तयारी र प्रतिकार्यका लागि निजी क्षेत्र हातेमालो गर्न सधैं प्रतिबद्ध रहेको बताउँदै बनेका नीति नियम र कानुन कार्यान्वयनमा भने गम्भीर बन्नुबर्नेमा जोड दिनुभयो । उहाँले विगतमा विपतका बेला निजी क्षेत्रले खेलेको भूमिकाको स्मरण गराउँदै आगामी दिनमा पनि तयार रहेको बताउनुभयो ।

नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाले विपत जोखिम न्यूनीकरणका लागि दीर्घकालीन योजनाका साथ अघि बढ्न सबैको हातेमालो आवश्यक रहेको उल्लेख गर्नुभयो ।

युनिसेफका प्राविधिक अधिकृत नरेश निदालले नेपालगञ्जमा सम्भावित विपत, आवश्यक पूर्व तयारी, जोखिम न्यूनीकरणका उपाय र निजी क्षेत्रसंगको सहकार्य तथा सुपर प्रोजेक्टका गेहेन्द्र बमले आपतकालीन पूर्व तयारी तथा प्रतिकार्य योजना निर्माण प्रक्रियामा निजी क्षेत्रको भूमिकाका विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो ।

निदालले नेपालगञ्ज भूकम्पको उच्च जोखिममा रहेको तथ्य प्रस्तुत गर्दै पूर्व तयारी र प्रतिकार्यका लागि समयमै सबैको हातेमालो आवश्यक रहेको बताउनुभयो । उहाँले ३० बर्ष पुराना घरहरु बढी रहेको र घना बस्ती भएका कारण नेपालगञ्जका ३ र ७ नम्बर वडा बढी जोखिममा रहेको बताउनुभयो । बमले ७ रेक्टर स्केलभन्दा माथिको भूकम्प गएमा ७० देखि ८० प्रतिशत घर ध्वस्त हुने अवस्था रहेको चित्रण गर्नुभयो ।

छलफल कार्यक्रमको अध्यक्षता गर्नुभएका नेपालगञ्ज उद्योग बाणिज्य संघको विपत समितिका संयोजक श्यामसुन्दर अधिकारीले स्थानीय सरकारसंग सहकार्य गर्न आफूहरु तयारी रहेको बताउनुभयो ।

उहाँले विपत योजना निर्माणमा निजी क्षेत्रको अर्थपूर्ण सहभागिताको आवश्यकता औंल्याउनुभयो । व्यवसायी जिआर भुषाल लगायत सहभागीहले विपतका योजना बनाउँदा निजी क्षेत्रको सल्लाह, सुझाबलाई समेटेर अपनत्व महसुस हुने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

Previous articleसेवा सुविधा प्रभावित भएपछि कर्मचारीद्वारा तालाबन्दी
Next articleनेपथ्य टोली नेपालगञ्जमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here