चार्ल्स शोभराजलाई जेलमुक्त गरेर आफ्नै देश फर्काउन आदेश

फाईल तस्बिर

काठमाडौ । फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई जेलमुक्त गरी १५ दिनभित्र आफ्नै देश फर्काउन सर्वोच्च अदाललते आदेश दिएको छ ।

जेलमा रहेको ६५ वर्षभन्दा माथि उमेर भएका जेष्ठ नागरिकले ७५ प्रतिशतभन्दा बढी सजाय काटिसकको अवस्थामा कैद सजाय छुट दिन सकिने व्यवस्था अनुसार सर्वोच्चले शोभराजलाई जेल मुक्त गर्न आदेश दिएको हो । मुटु रोगबाट पीडित शोभराज हाल ७८ वर्षको हुनुभयो ।

शोभराजलाई जबर्जस्ती करणी गरी हत्या गरेको अभियोगमा भक्तपुर जिल्ला अदाललते २०६० असोज २ गतेदेखि २०८० असोज १ गतेसम्म कैदमा राख्न आदेश दिएको थियो ।

उक्त आदेशलाई तत्कालीन पुनरावेदन अदालत र सर्वोच्च अदालतले समेत सदर गरेको थियो । नियमित अवस्थामा १० महिना मात्रै कैद सजाय भुक्तान गर्न बाँकी रहेको अवस्थामा बुधबार न्यायाधीश सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले बन्दीप्रत्यक्षीकरणको आदेश जारी गर्नुभएको हो ।

आदेशमा उल्लेख गरिएको छ, ‘निजलाई निरन्तर कैदमा राखीराख्नु कैदी बन्दीको मानव अधिकार मापदण्ड, संविधान तथा कानून प्रदत्त अधिकार अनुकूल देखिएन । बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरिदिएको छ । अन्य मुद्दामा थुनामा रहेका निजलाई आजै कैदबाट छाडी दिन तथा यो आदेश भएको १५ दिनभित्र आफ्नो देश फर्काउन आवश्यक व्यवस्था मिलाउनसमेत यो आदेश जारी गरिएको छ ।’

सुन्धाराको कारागारमा रहेका शोभराजले गत मंसिर ९ गते आफूलाई जेष्ठ नागरिकले पाउने सुविधा दिन निवेदन दिनुभएको थियो ।

कारागार नियमावली, २०२० का नियम २९ (२ क) ले ६५ वर्ष उमेर पुगेका कैदीहरूलाई असल चालचलनको आधारमा वा ओछ्यानमा परि निको नहुने अवस्थामा पुगेको कैदीलाई ७५ प्रतिशतसम्मको कैद सजाय छोट्याउन सक्ने सुविधा दिएको छ । देशसंचारबाट

Previous articleकैलालीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु
Next articleचलचित्र संघद्धारा आन्दोलन घोषणा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here