
काठमाडौं । चलचित्र विकास बोर्ड खारेजीको माग गर्दै चलचित्र संघले विकास बोर्डविरुद्ध चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
बुधबार काठमाडौंमा भएको देशभरका सयभन्दा बढी हल व्यवसायीको भेलाले बोर्ड अध्यक्ष भुवन केसीको राजीनामा माग्ने, हल बन्द गर्नेदेखि बोर्डमा ताला लगाउने सम्मका कार्यक्रम तय गरेका छन् ।
जसअनुसार पुस १२ गते सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा ज्ञापनपत्र बुझाउने, १४, १५ र १६ गते हलमा कालोपट्टी बाँधेर काम गर्ने कार्यक्रम तय गरिएका छन् । उक्त मितिसम्म पनि मन्त्रालयले ठोस सम्बोधन नगरे हल बन्द गर्ने र बोर्डमा ताला लगाउनेसम्मका कार्यक्रम घोषणा गरेका छन् ।
चलचित्र संघका महासचिव नरेन्द्र महर्जनले अध्यक्ष भुवन केसीसँग वार्ता नगर्ने निष्कर्षमा आफूहरु पुगेको बताउनुभयो । एक साताअघि नै फिल्म सेन्सर हुनुपर्ने, राति १० बजेपछि फिल्म प्रदर्शन गर्न नपाइने र विश्वकप फुटबल जस्ता कार्यक्रम देखाउन नपाइने भन्ने बोर्डको नियमलाई लिएर चलचित्र संघ आक्रोशित छ ।
साथै, प्रदर्शकको भेलाले सिंगल स्क्रिन हलका मुद्दामा समेत बोर्ड गम्भीर नभएको बताएको छ । यसैबीच, चलचित्र संघको राष्ट्रिय भेलाले चलचित्र विकास बोर्डको नेतृत्वसँग वार्ता नगर्ने निर्णय गरेको छ ।





